• बैशाख २ २०८२, मंगलवार

२०८१ सालमा सुन तोलामै ५० हजार बढ्यो

बैशाख १ २०८२, सोमबार

१ वैशाख, काठमाडौं । गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भयो । २०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको अन्त्यमा भने भाउ करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज नयाँ वर्षको सार्वजनिक विदा परेकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य तय गरेको छैन । समग्रमा सुनको मूल्य २०८१ मा ३५.९ प्रतिशत बढेको छ । यहीं अवधिमा अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य ३५.७ प्रतिशत बढेको छ । अमेरिकी डलरको मूल्यवृद्धिले पनि नेपाली बजारमा सुनको मूल्य थप बढ्न जान्छ ।

त्यस्तै चाँदीको मूल्य एक वर्षमा १५.२ प्रतिशत बढेको छ । गत वर्षको वैशाख २ गते प्रतितोला १ हाजर ७ सय रुपैयाँ रहेको चाँदी चैत सकिँदा १९६० रुपैयाँ पुगेको छ ।नेपालमा सुनचाँदीमा लगानीको अवसर नै छैन । अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनचाँदीको लगानीबाट राम्रो नाफा पाइरहँदा नेपाल भने करिब वञ्चित अवस्थामा छ । यहाँ कमोडिटी बजार सञ्चालनमा छैन ।

भौतिक रुपमा काँचो सुन खरिद गर्न पाइँदैन, गरगहना मात्रै बनाउन पाइन्छ । गरगहना बनाउँदा सुनको मूल्यमा ज्याला तथा जर्तीका रुपमा करिब १० प्रतिशत अतिरिक्त खर्च लाग्ने गर्छ ।