• बैशाख २ २०८२, मंगलवार

‘साहीमासा’ एक पाठकीय दृष्टिकोणमा

चैत्र ३० २०८१, आईतवार

रोल्पाको माटोमा जन्मिएका एकजना भर्भराउँदा कवि हुन् समीप बैरागी । उनै बैरागीद्वारा लिखित कविता कृति ‘साहीमासा’ भर्खरै बजारमा आएको छ । ‘साहीमासा’ न्यायालयमा मजदूरको आवाज, हृदयका भाकाहरू, नफर्कनु आधार शिविरबाट, रङ भित्रको रङ, प्रकृति र प्रेम र आँसुमा देशको छायाँ गरी ६ वटा खण्डमा विभाजित गरिएको छ ।
कवि आफू स्वयम् पनि एक मजदूर भएकै कारण मजदूरहरूको आवाजलाई बडो सशक्त ढङ्गले कवितामा उतारेका छन् । कृपया न्याय दिनुहोस् कवितामा कविले एउटा मजदूरको भावनालाई यसरी व्यक्त गरेका छन् ।
चाडपर्वकै मुखमा
मेरो भोकको ईश्वरले
मेरो सपनाको हत्या गरेपछि
म शोकमा डुबेको छु…।
यो भावना आम मजदूरहरूको हो, जो विभिन्न चाडपर्वमा आफ्नो परिवारको सपनाहरू पूरा गर्नलाई दिनरात नभनेर काम गरिरहेका हुन्छन् । ठिक त्यति नै बेला कारखानाबाट निकालिन सक्छन् या विभिन्न बहानामा गरेको कामको उचित पारिश्रमिक नपाउन पनि सक्छन् । त्यसैगरी जुनसुकै बेला मर्नसक्छु भन्ने कवितामा कविले आम मजदूरहरूको भावनालाई निकै मार्मिक तरिकाले पोखेका छन् ।
रेडियोमा बज्ने छैन–शोकधुन
झुकाइने छैन–राष्ट्रिय झण्डा
श्रद्धाञ्जली र समवेदनाका शब्दहरू
छापिने छैनन् अखबारका पृष्ठहरूमा ।
किनकि–
म कुनै
नेता होइन/मालिक होइन
म कुनै
ठेकेदार होइन/नामी व्यक्ति होइन
म त केवल यो देशको मजदूर हुँ ।
त्यसैगरी कविले लेठ मेसिनको बेल्टमार्फत् मजदूरहरूलाई केवल मजदूर बन्न मात्र होइन क्रान्तिका लागि पनि आह्वान गरेका छन् ।
ओ स्वाभिमानी मजदूर !
रोपिदिएर तिम्रो जीवनमा–आँसु
खित्का छाडिरहेका बुख्याँचाहरु जलाउँदै
कालोबादलको दमन च्यातेर जाग
कर्ममा जीवनको अर्थ खोज्न निस्क ।
त्यसैगरी ‘विद्रोहको जन्म’ शिर्षकमा कविले मजदूरहरू माथि भइरहेको थिचोमिचो अन्त्यको लागि र पाउनुपर्ने सेवा सुविधा र अधिकार प्राप्तका लागि मजदूरहरूलाई विद्रोहको आह्वान गर्छन् ।
तब ऊ–
अत्याचारको स्वर्गतिर लम्कन्छ
सलाईको काँटी लिएर–बाँकी शीतल ताप्न ।
कविले अझै सशक्त तरिकाले मजदूरहरूको भावनालाई आगो निलेर आएको छु मार्फत् पनि पोखेका छन् ।
म त
मजदूरको विपक्षमा उभिने
श्रम ऐनका दफा र उपदफाहरु च्यात्न आएको छु
कुरूप मस्तिष्कहरू जलाउन आएको छु
ताकि–
मजदूरहरूको छातीमा
पीडा नरोपुन अब मालिकहरूले ।
त्यसैगरी खण्ड २ हृदयका भाकाहरूमा मुटुमा छाम्छु तिमीलाई कविता मार्फत् जिजीविषाको लागि घरपरिवारसँग टाढा हुँदाका पीडाहरू पोखेका छन् ।
शीतले भिजेका अवोध कोपिलाहरू
मौसमसँग गुनासो पोखिरहेको दृश्य
अल्झिएर बस्यो भने मेरो आँखामा
छोराछोरीको यादले निचोरिन्छ मन…।
जुन निकै मार्मिक छ । त्यसैगरी बसन्तमा गाउँमार्फत् कविले आफ्नो गाउँलाई यसरी सम्झिन्छन् ।
सुनाउँदै होलान्‌–मेरो गाउँलाई
मिर्मिरेमा चराहरूले वसन्तको नौलो भाका
र, ब्युझँदै गाउँलेहरू–निद्राबाट
गाँस्दै होलान्‌–न्यानो आत्मीयता ।
त्यसैगरी ‘काजी साहेब’ कवितामार्फत् समाजमा विद्यमान जातीय विभेदलाई कविले यसरी प्रस्तुत गरेका छन् ।
काजी साहेब !
यो बगैचा प्रवेश गर्नुअघि
हस्ताक्षर गर्नुहोस् सम्झौता पत्रमा
र, तयार हुनुहोस् जानलाई
विभेदकारी चेतनाको–मलामी ।
त्यसैगरी कविले खण्ड ३ मा ‘नफर्कनु आधार शिविरबाट’ एउटा क्रान्तिकारी शीर्षकको कवितामार्फत् क्रान्तिमा होमिएका ती योद्धाहरूलाई यसरी सम्झेका छन् ।
घेरा हाल्दा ब्वाँसाहरूले
लुकाएको थियो–केही पल उसको काखमा
तारो हान्दा आधुनिक अस्त्रले
थापिदिएको थियो–आफ्नै छाती
अचेल कहाँ होला ?
जिज्ञासा राखिरहेछ लालभन्ज्याङले ।
त्यसैगरी आफ्नो भागबन्डाका लागि चिरा–चिरा फुटेका कम्युनिस्ट पार्टीहरूलाई ‘फेरि भेटौं उही दोभानमा’ कविता शीर्षकमार्फत् कविले यसरी प्रश्न गरेका छन् ।
बोकेर अठोट सङ्कल्प
लालझुपडीहरूबाट निस्कँदै गर्दा
आँसुको घुट्को पिउने सिरानीहरूलाई
किन भन्यौँ ?
अब कहिले पिउनु पर्दैन अभावको आँसु ।
त्यसैगरी ‘कसम तिम्रै झल्को आउँछ’ कविता शीर्षकमा युद्धको समयमा ज्यान गुमाउनु भएका तमाम ती अमर सहिदका पत्नीहरूको वेदनालाई कविले यसरी उनेका छन् कवितामा ।
म एक
अमर सहिदको पत्नी हुँ
आज फेरि आइपुगेको छ
वैवाहिक वर्षगाँठ–खाली सिउँदोको
र आइपुगेको छ फागुन १ गते
तिम्रै सम्झनाका छालहरू बोकेर ।
त्यसैगरी खण्ड ४ मा ‘रङ भित्रको रङ’मा रहेको ‘भङ्गौरा’ कविता शीर्षकमा अतित र बदलिएको वर्तमानको समयलाई यसरी लेखेका छन् ।
बदलिएको जुगसँगै बदलिए–नयाँ पुस्ता
हराउँदै गए पुर्ख्यौली सीपहरू
अहमताले खायो–मानिसहरूको हृदय
आधुनिकताले खायो–मानिसहरूको चेतना ।
त्यसैगरी मुख्य शीर्षक रहेको ‘साहिमासा’ कवितामा कविले आफ्नो भावनालाई यसरी व्यक्त गरेका छन् ।
मारुम !
बितिगएका सम्झनाका बाढीहरूले उछिट्याएर
मलाई ल्याइ पुर्‍याएको छ आज
उही आदिम ठाउँमा
जहाँ–
फोटो एल्बममा छाडिआएको ‘साहीमासा’
फिर्ता आएको थियो–दोचन्दा
तिम्रो प्रिय सखीको हातमा ।
खासमा ‘साहीमासा’ भनेको चाहिँ मगर समुदायमा विवाह गर्नुभन्दा पहिला केटाले केटीको छेकबारको लागि रकम वा कुनै बहुमूल्य वस्तु दिने चलन रहेको छ । मगर जातिमा आफ्नो मामाको छोरी आफूभन्दा कान्छी भए साली साइनो र आफूभन्दा जेठी भए ‘मारुम’ अर्थात् (भाउजू) साइनो पर्दछ ।
त्यसैगरी खण्ड ५ मा प्रकृति र प्रेममार्फत् कविले प्रकृति र प्रेमका कुरा गरेका छन् । जलवायु परिवर्तनका कुरा गरेका छन् । यही भित्र रहेको ‘बेकसुर जलिरहेछ पृथ्वी’ शीर्षकमा कविले आफ्नो भावनालाई निकै मार्मिक अनि सशक्त तरिकाले पोखेका छन् ।
बुलडोजरको राक्षसी दाँतले
कटक्क टोकेपछि–पृथ्वीको मुटु
गुमनाम हुँदैछ–पानीको मूल…।
अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको सङ्कटलाई हामी सबैले लेखिरहन जरुरी छ । यसको लागि कविलाई अझ विशेष धन्यवाद दिन चाहन्छु ।
त्यसैगरी अन्तिम खण्डमा रहेको ‘आँसुमा देशको छायाँ’ मार्फत् कविले देशको स्थिति र देशप्रेमलाई व्यक्त गरेका छन् । ‘क्षितिजपारिको देशमा छु’ कविता मार्फत् कविले परदेशमा रहँदा आफ्नाो भावनालाई यसरी पोखेका छन् ।
सुनाई गयो भने न्याउलीले
खोलीको संगीतसँगै–बिरही भाका
सम्झनु कि–
त्यो मेरै वेदनाको गीत हो ।
प्रिय !
यतिबेला म
तिमीभन्दा निकै पर
क्षितिज पारिको देशमा छु ।
कवि समीप बैरागी सानै उमेरदेखि जनयुद्धमा लागे । युद्धले गर्दा आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । देशमा भएको बृहत शान्ति सम्झौतापछि आफ्नो पारिवारिक दायित्वलाई पूरा गर्न परदेश लागेका बैरागी हाल पोखराको औद्योगिक क्षेत्रमा रहेको माछापुछ्रे मेटल एण्ड मेसिनरी वर्क्स प्रा.लिमा कार्यरत छन् ।

कविले आफ्नो जीवनमा भोगेका विभिन्न आरोह र अवरोह जस्तै कविताहरू पनि निकै मार्मिक र सशक्त छन् । पश्चिम नेपालबाट नेपाली कविता आकाशमा उदाइरहेका कवि बैरागीको यस कविता कृतिले पाठकहरूलाई नयाँ ऊर्जा दिनेछ । यस कृतिको सफलताको लागि कविलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।