झापा । आमाको किरिया बसिरहेका एक छोराको निधन भएको छ। झापाको दमक नगरपालिका-८, लक्ष्मी टोल निवासी ६१ वर्षीय रामप्रसाद संग्रौलाको किरियाकालमै निधन भएको हो।
गत आइतबार उनकी आमा तिलामाया संग्रौलाको निधन भएको थियो। मातृशोकमा डुबेका रामप्रसाद किरिया बसिरहेको अवस्थामा बिहीबार राति एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो।
हृदयघातका कारण गम्भीर बनेका उनलाई अस्पताल पुर्याइएलगत्तै राति करिब पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पारिवारिक संवेदनशीलताका कारण उनको निधनको खबर तत्काल सार्वजनिक गरिएको थिएन।
मृतक रामप्रसाद संग्रौला झापाका समाजसेवी तथा सम्मानित व्यक्ति थिए। उनका भाइ लक्ष्मीप्रसाद संग्रौला राप्रपा पार्टीका केन्द्रीय सदस्य हुन्। उनले दाजुको अन्त्येष्टि आज दिउँसो २ बजे कन्काई मुक्ति घाटमा गरिएको जानकारी दिए।