३० चैत, खार्तुम । सुडानको उत्तर दारफुर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको ज्यान गएको सेनाले जनाएको छ । सेनाको छैटौँ डिभिजनले जनाएअनुसार शुक्रबार उक्त समूहले आत्मघाती मानव रहित यन्त्र (ड्रोन) मार्फत आक्रमण गरेको थियो ।
मृतकमध्ये चार जना महिला र १० जना बालबालिका रहेका छन् भने १७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएको छ । एल फासरको प्रतिरोध समितिको समन्वय समूहले पनि आक्रमणको पुष्टि गर्दै शहरको उत्तर र पूर्व भागमा मानव रहित यन्त्र र तोप प्रहार गरिएको जनाएको छ । साथै, नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ ।
सुडानी चिकित्सक सञ्जालले एल फासर नजिकै रहेको जमजम नामक विस्थापित शिविरमा आरएसएफले दोस्रोपटक आक्रमण गरेको जनाएको छ । हालसम्म उक्त शिविरमा जनधनको क्षतिको पुष्टि नभए पनि यसरी ठूलो क्षमताको हातहतियार प्रयोग गर्नु हिंसात्मक गतिविधि वृद्धि भएको भन्दै सञ्जालले निन्दा गरेको छ ।
उत्तर दारफुर राज्यको स्वास्थ्य मन्त्रालयका महानिर्देशक इब्राहिम खातिरले जमजम शिविरमा आक्रमण भएको पुष्टि गरे । तर उक्त स्थान शहरबाट टाढा रहेको र सञ्चार सम्पर्कमा समस्या भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।
सन् २०२४ मे १० देखि एल फासरमा सुडानी सेना र आरएसएफबीच तीव्र लडाइँ जारी छ । यो द्वन्द्व सन् २०२३ को अप्रिलदेखि सुडानमा फैलिएको गहिरो सङ्कटको हिस्सा हो । संयुक्त राष्ट्रसङ्घद्वारा उद्धृत गरिएको एउटा अनुसन्धान संस्थाले दिएको जानकारी अनुसार सो द्वन्द्वमा हालसम्म २९ हजार ६ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड ५० लाखभन्दा बढी व्यक्ति आफ्नै घरबाट विस्थापित भइसकेका छन् ।