• चैत्र ३० २०८१, आईतवार

अर्गानिक खाना र प्राकृतिक खानामा के फरक छ ?

चैत्र २७ २०८१, बिहीबार

केही वर्ष यता संसारका मानिसहरु आफ्नो स्वास्थ्यप्रति निकै सचेत देखिएका छन् । त्यसैले उनीहरु स्वस्थकर खानेकुरा खोजिरहेका छन् र जैविक खानातर्फ आकर्षित भएका छन् । त्यसैले अर्गानिक खाना बेच्ने कम्पनीहरू र प्राकृतिक खाना बेच्ने कम्पनीहरू बीच प्रतिस्पर्धा भइरहेको छ ।

यी दुवैथरी खानेकुरा स्वस्थकर हुने बताइने गरिन्छ । यस्तो अवस्थामा प्राकृतिक र अर्गानिक खानेकुरामा कुन राम्रो हो भन्नेमा मानिसहरू निकै अलमलमा पर्छन् ।

के हो अर्गानिक खाना ?
अर्गानिक खाद्यपदार्थ अर्थात् जैविक शब्दको अर्थ कीटनाशक औषधि प्रयोग नगरी खाद्यान्नहरू उत्पादन गर्ने प्रक्रिया हो । यूएसडीए नेसनल अर्गानिक प्रोग्रामका अनुसार माटो, पानी र प्राकृतिक स्रोतको संरक्षण गर्ने किसानहरूले बनाएको उत्पादनको रूपमा अर्गानिक उत्पादन भनिन्छ । यी खानेकुरा बनाउन पूर्णतया प्राकृतिक विधिहरू प्रयोग गरिन्छ, जसमा कुनै पनि प्रकारको रसायन प्रयोग हुँदैन ।

अर्गानिक खानेकुरा स्वास्थ्यसँग सम्बन्धित भएर होला, यसको प्रयोग गर्न मानिसहरु जति पनि खर्च गर्न तयार हुन्छन् । अर्गानिक खानेकुरा मानिसको मात्र होइन, वातावरण स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । त्यसैले आजभोलि अर्गानिक खेतीको बारेमा चर्चा हुने गरेको छ ।

प्राकृतिक खाना :
प्राकृतिक रूपमा लेबल गरिएको खाना प्रायः हल्कारूपमा तयार हुन्छन् र कृत्रिम सामग्रीहरू समावेश गरिएको हुँदैन । प्राकृतिक खानेकुरालाई रसायनले परिमार्जन गर्दैन र यसमा कुनै रसायनहरू प्रयोग गरिएको हुँदैन । प्राकृतिक खाना कृत्रिम सामग्रीबाट मुक्त हुन्छन् । फलफूलहरु, तरकारी र सम्पूर्ण अन्नहरु प्राकृतिक खाना हुन् ।

कीटनाशकको जोखिम न्यूनीकरण :
अर्गानिक खाद्यपदार्थमा सिंथेटिक कीटनाशक जस्ता हानिकारक रसायनको प्रभाव कम हुन्छ । रसायनयुत्त खानेकुरा लामो समयसम्म प्रयोग गर्नाले धेरै स्वास्थ्य समस्या निम्त्याउँछ । यस्ता रसायनहरू प्रयोग नभएको खानेकुरा रोज्नुपर्दा अर्गानिक वा जैविक खानाहरू एक राम्रा विकल्प हुनसक्छन् । विशेषगरी बच्चा, गर्भवती, महिला र कमजोर स्वास्थ्य भएका मानिसहरूका लागि अर्गानिक खाना स्वस्थकर हुन्छ ।

हर्मोन र एन्टिबायोटिकको प्रभाव कम :
अर्गानिक खानाहरु जस्तै : मासु, दुध र अण्डाहरू जनावरबाट आउँछन्, जसमा सिंथेटिक हर्मोन वा एन्टिबायोटिकको प्रयोग गरिंदैन । यसले एन्टिबायोटिक–प्रतिरोधी ब्याक्टेरियाको जोखिमलाई कम गर्नसक्छ । यस्ता खानेकुराको सेवनले शरीरको प्राकृतिक हर्मोन सन्तुलनमा बाधा पुर्‍याउँदैन ।

अर्गानिक खेती पारम्परिक खेती भन्दा बढी दिगो हुनेगरी डिजाइन गरिएको हुन्छ । यसलाई गुणस्तरीय माटो, कम प्रदूषण र पानीको संरक्षण गर्ने गरी डिजाइन गरिएको हुन्छ । उत्पादन लागत बढी पर्ने भएकाले अर्गानिक खाना महंगो हुन्छ ।

यस्तोमा अर्गानिक खानाको विकल्पमा प्राकृतिक उत्पादनहरु रोज्न सकिन्छ । विशेषगरी हानिकारक रसायनको सम्पर्कबाट बच्न प्राकृतिक र अर्गानिक खानामध्ये एक रोज्ने विकल्प आउँदा अर्गानिक खाना नै बढी फाइदाजनक हुन्छ ।