• बैशाख ५ २०८२, शुक्रबार

अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्याे, तुरुन्तै देश छोड्न आदेश

चैत्र २६ २०८१, बुधबार

२७ चैत, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एकैचोटि नौ लाख आप्रवासीहरूलाई झट्का दिएको छ । यी आप्रवासीहरू बाइडेन प्रशासनको समयमा सुरु गरिएको सीबीपी वन एप नीति अन्तर्गत अमेरिका आएका थिए ।

ट्रम्प प्रशासनले यो नीति उल्टाएर ती आप्रवासीहरूको कानुनी अनुमति रद्द गरेको छ । उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न भनिएको छ । जनवरी २०२३ देखि गत वर्षको डिसेम्बरसम्म, ९ लाख ३६ हजार ५०० मानिसहरू सीबीपी वन एपको प्रयोग गरेर मेक्सिकन सीमाबाट अमेरिका छिरेका थिए ।

उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा काम गर्न पाउने गरी बस्ने अनुमति दिइएको थियो । ट्रम्प प्रशासनको गृह सुरक्षा मन्त्रालयले अमेरिकी जनता र देशको सिमाना सुरक्षित राख्न यी अनुमति अब खारेज गरिएको बताएको छ ।

यो एपमार्फत अमेरिका छिरेका मानिसहरूलाई इमेल मार्फत अनुमति रद्द गरिएकोबारे सूचित गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् । तर कतिले त्यस्तो जानकारी पाएका छैनन् भनेर कुनै जानकारी दिइएको छैन । यी सबैलाई आफैँ अमेरिका छोड्न भनिएको छ ।