सिर्जनानगर, रामेछाप
नेपालमा प्रथमपटक पुष्पलाल मार्क्सवादी विश्वविद्यालय घोषणा गरिएको छ । पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति २०८०–२०८१ र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले चैत २३–२५ सम्म रामेछापको कठजोर, भँगेरी, मन्थली र सिर्जनानगरमा आयोजना गरेको बृहत् भेला र विचारगोष्ठीले पुष्पलाल मार्क्सवादी विश्वविद्यालय र कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा गरेको हो ।
भेलामा नेपालका नेल्सन मन्डेला उपनामले चिनिएका ८८ वर्षीय कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी, ८७ वर्षीय कम्युनिस्ट नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, समाजवादी कम्युनिस्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्मा, नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पेशल खतिवडा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, ज्येष्ठ नागरिक समाजका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता मोहनबहादुर केसी, जनयुद्धका सहिद आयामकी जीवन संगिनी सरला रेग्मी, एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलकी दिदी लक्ष्मी पौडेल, नेकपा (१५ सेप्टेम्बर १९४९) का पोलिटब्युरो सदस्य योगेन्द्र पराजुली लगायत ११ वटा वामपन्थी, कम्युनिस्ट, जनतान्त्रिक पार्टीका प्रमुख र प्रतिनिधिको उपस्थितिमा कठजोर, मन्थली, भँगेरी र सिर्जनानगरमा आयोजित भेलाले यस्तो निर्णय गरेको हो ।
भेलाले विभिन्न कम्युनिस्ट घटक, नागरिक समाज, साहित्यकार, पत्रकार, सर्वसाधारणसहित सहभागी भएर गरिएको पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अवधारणा सरकारसमक्ष प्रस्तुत गरी कार्यान्वयन गर्न दबाब दिने, कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा गर्ने वातावरण निर्माण गर्ने, हाललाई नागरिक र कम्युनिस्ट पार्टी स्तरबाट रामेछाप सिर्जनानगरमा स्थापित हित–जून युद्ध–कला सङ्ग्रहालय भवनमा मार्क्सवादी विश्वविद्यालय सञ्चालन/अभ्यास गर्ने लगायत निर्णय गरेको जानकारी आयोजक समितिका अध्यक्षसमेत रहेका उक्त प्रस्तावका प्रस्तापक अशोक सुवेदीले दिए ।
भेलामा सहभागी एक सय पचासभन्दा बढी अभियानकर्मीले चैत २३ गते कृष्णलाल जन्मस्थल कठजोर र २४ गते बिहान गङ्गालाल–पुष्पलाल जन्मस्थल भँगेरीमा उपस्थित भई तीन लालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने २४ गते मन्थलीमा ‘नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल–गङ्गालाल–पुष्पलालका योगदानहरू’ विषयमा बृहत् विचारगोष्ठी आयोजना गरी पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अवधारणा पारित गरिएको जानकारी पनि आयोजक संस्थाले दिएको छ ।
भेलामा अखिल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता मुकुन्द आचार्य, समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी समितिका सदस्यहरू माधव गौतम, विनोद थापा, पोलिटब्युरो सदस्यहरू हीरामणि रावल, रमण घिमिरे, केन्द्रीय सदस्यहरू सीता गौतम, अर्जन वली, परिवर्तनकारी युवा समूहका सुदीप आचार्य, साहित्यकार रसुवाली कवि, कमल सुवेदी, कलाकार घनश्याम एन्टिना, ज्योतिकिरण रिजाल, बालकुमारी खनाल अधिकारी, नेकपा (१५ सेप्टेम्बर)का नेता रामदुलार महतो, जर्बुट्टा कलाकार विश्वम्भर लामिछाने, जनयुद्धकी महिला नेत्री सुधा रेग्मी, नेपाल कम्युनिस्ट पार्टीकी नेत्री सीता सुवेदी, बद्रीनाथ अधिकारी, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, एमाले नेता एवम् प्रदेश सांसद आनन्द श्रेष्ठ, विमलकुमार फुयाल, गणेश कटुवाल, होतराज ढकाल, सामाजिक अभियन्ता प्रदीप श्रेष्ठ, ध्रुव श्रेष्ठ, मन्थली र रामेछाप नगरपालिकाका वडा सदस्यहरू र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा मोहनचन्द्र अधिकारी, ईश्वरी दाहाल, मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे ‘रोहित’, विजयलाल श्रेष्ठ, मानध्वज श्रेष्ठ रिम, हिरण्यलाल श्रेष्ठ, मोहन वैद्य किरणलगायत ८ जना कम्युनिस्ट नेता र सहिद परिवारका सरला रेग्मी, लक्ष्मी पौडेल र कमला बस्नेतलाई अभिनन्दन र सम्मान गरिएको थियो ।
मन्थली नगरपालिकाको सभाकक्षमा चैत २४ गते अभियन्ता अशोक सुवेदीले प्रस्तुत गरेको नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल–गङ्गालाल–पुष्पलालका योगदानहरू विषयक कार्यपत्र र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय र कृष्णलाल प्रथम साहित्यिक सहिद विषयक अवधारणापत्रमाथि राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले र विमल फुयालले प्रस्तुत गरेको नेपालको शिक्षा र संस्कृतिका क्षेत्रमा पुष्पलालको योगदान विषयमा मुकुन्द आचार्यले टिप्पणी गरेका थिए ।
मार्क्सवादी विश्वविद्यालयको प्रस्थापना र प्रथम सहिद घोषणा सम्बन्धी प्रस्तावमा मोहनचन्द्र अधिकारी, एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा मालेका महासचिव सीपी मैनाली, असारे काका, पूर्णबहादुर सिंह, नारायण शर्मा, लोककृष्ण भट्टराई, सरला रेग्मी, पेशल खतिवडा, मोहनबहादुर केसी, योगेन्द्र पराजुलीलगायत ११ वटै कम्युनिस्ट पार्टीका नेताले समर्थन गर्दै यसको कार्यान्वयनका लागि सरकारसमक्ष सामूहिक रूपमा माग राख्ने बताएका थिए ।
२५ गते सिर्जनानगरमा मुक्ति सेनाका योद्धा एवम् कवि हितप्रसाद उपाध्यायको १०२औँ जन्मजयन्ती तथा ४३औँ स्मृति दिवस र सामाजिक अभियन्ता जूनमाया सुवेदीको ८७औँ जन्मजयन्ती तथा १२औँ स्मृति दिवसका अवसरमा आयोजित साँस्कृतिक/वैचारिक कार्यक्रममा असल बुहारी गीता भुजेल, बालप्रतिभा प्रतीक विक, प्रतियोगितामा विजयी कविहरूलाई नगदसहित सम्मान गरिएको थियो भने सुधा रेग्मी, माधव गौतम, रसुवाली कवि, योगेन्द्र पराजुली, कमल सुवेदी, एन्टिना घनश्यामले कविता र प्रहसन प्रस्तुत गरेका थिए । कम्युनिस्ट पार्टीका नेताहरूले २४ र २५ गते बिहान आयोजित प्रभात फेरी र श्रमकार्यमा सहभागी भई जनताको खेतमा मकै गोडेका थिए ।