• बैशाख ४ २०८२, बिहीबार

रुपन्देहीमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु २२ जना घाइते

चैत्र २५ २०८१, मंगलवार

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य २२ जना घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका-१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानी गाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए ।

दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा  क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले उल्लेख गरे ।