काठमाडौं । यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् ।
सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए । सडक निर्माण स्थलमा सवारीसाधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सन व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए ।
काठमाडौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकका रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालन व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरी लगायत निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताए ।
दाउन्ने सडक खण्डमा भइरहेको निर्माण कार्यका कारण सवारीसाधन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
उक्त सडक खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले बताए ।
कार्यक्रममा यातायात व्यवसायी महासंघ अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर संगठनका प्रतिनिधि लगायत सहभागी थिए । साथै, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशकहरू लगायत उपस्थित थिए ।