• चैत्र २५ २०८१, मंगलवार

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

चैत्र २४ २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । सोमबार लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको रूपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

आदेशलगत्तै शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार काठमाडौंबाट भैरहवा लगिएको थियो । आइतबार सरकारी बिदाका कारण उनलाई प्रहरीको हिरासतमै राखिएको थियो । सोमबार कार्यालय खुलेसँगै उनलाई कारागार पठाइएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमै पूर्वडीआईजी छविलाल जोशी पनि पुर्पक्षका लागि भैरहवा कारागारमै छन् ।