• चैत्र २५ २०८१, मंगलवार

साउदी अरेबियाले भारतसहित १४ देशमाथि लगायाे भिसामा प्रतिबन्ध

चैत्र २४ २०८१, सोमबार

काठमाडौं । खाडी मुलुक साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।

साउदीले उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हजमा हुने अनियन्त्रित भिड नियन्त्रण गर्न भिसामा प्रतिबन्ध लगाइएको साउदीका अधिकारीहरूले जनाएका छन् । भिसा प्रतिबन्ध आगामी जुनको मध्यसम्म जारी रहनेछ । त्यतिबेला हज यात्रा समाप्त भइसक्छ ।

सन् २०२४ मा हजमा १२ सयभन्दा धेरैले ज्यान गुमाएका थिए । उनीहरूमध्ये धेरै अनधिकृत तीर्थयात्री थिए । उमराह र भ्रमण भिसामा साउदी अरेबिया प्रवेश गर्ने र अनधिकृतरूपमा बसेर हजमा सहभागी हुने गरेको पाइएपछि साउदीले कदम चालेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कुन–कुन देशमा लाग्यो प्रतिबन्ध ?
१. भारत
२. पाकिस्तान
३. बंगलादेश
४. इथियोपिया
५. अल्जेरिया
६. इन्डोनेसिया
७. इराक
८. जोर्डन
९. नाइजेरिया
१०. इजिप्ट
११. सुडान
१२. ट्युनिसिया
१३. यमन
१४. मोरोक्को