काठमाडौं । तपाईंले फिल्म ‘लाज शरणम’ हेर्नुभएको छ भने एउटा पात्रलाई ख्याल गर्नुभएको होला । कलाकार महेश त्रिपाठी र रेणु योगीको कुपोषित बालकको भूमिकामा जाजरकोटका १५ वर्षिय विकास केसीले अभिनय गरेका छन् । वास्तविक जीवनमै कुपोषित बालक विकास, उनका बुवाआमाको भूमिकामा अभिनय गरेका महेश र रेणुको कथानक सन्दर्भ र दृश्य कुमार कट्टेल निर्देशित फिल्मको सबैभन्दा शक्तिशाली प्लट हो ।
भ्यू टावर उद्घाटन गर्न हेलिकोप्टर चढेर कर्णाली पुग्ने मन्त्रीले त्यहाँका विपन्न नागरिकलाई गरेको नजरअन्दाजलाई फिल्मले मार्मिकरुपमा चित्रण गरेको छ । फिल्ममा कुपोषित बालकको भूमिकामा देखिएका उनै विकासले मंगलबार जाजरकोटस्थित घरमा अन्तिम सास लिए । उनको निधनको खबर थाहा पाएपछि सिंगो ‘लाज शरणम’ टिम स्तब्ध बनेको छ ।
सबैभन्दा स्तब्ध महेश र रेणु बनेका छन् जसले चरित्र चित्रणका लागि जाजरकोटमा विकाससँग १ महिना बिताए । यो खबर सुनेपछि अभिनेत्री रेणु गोरखामा फिल्म ‘पहाड’को छायांकनमा थिइन् । विकासको निधनको कुराले उनी भावविह्वल बनिन् ।
छायांकन सेटमा रेणु योगीसँग विकास ।
रेणु बुधबार बिहान काठमाडौं आउनेछिन् । निर्माता तथा कलाकार अर्जुन घिमिरे पाँडेका अनुसार विकासको निधनपछि उनलाई अन्तिम श्रद्धाञ्जली र उनको परिवारलाई साथ दिन बुधबार जाजरकोट जाने कार्यक्रम छ । निर्देशक कट्टेल, कलाकार पाँडे, त्रिपाठी, योगी त्यसतर्फ जाँदैछन् । फिल्मका गीतकार वसन्त उदास विकासको निधनपछि मंगलबार नै जाजरकोट लागेका छन् ।
उनलाई काजकिरियाको लागि केही रकम दिएर पठाइएको निर्माता पाँडेले बताए । विकासको उपचारमा फिल्मको छायांकन र त्यसपछि पनि निकै प्रयास गरिएको पाँडेले बताए । उनलाई उपचारार्थ काठमाडौंसम्म ल्याइएको थियो । निर्माताले स्थानीय सरकार र परिवारसँग अनुमति लिएरै विकासलाई फिल्म खेलाएका थिए । ओछ्यानमा थलिँदा समेत उनले ‘सक्किगो नि’ सिरियल हेर्ने गरेको जिग्री, पाँडे, बले लगायतका पात्रलाई चिन्ने गरेको पनि उनले बताए ।
‘त्यहाँ कुपोषित भएर हजारौ बालबालिका मरिरहेका छन् । उहाँले यो सन्देश उठाइदिनुभयो’ विकासबारे पाँडेले भने । विकासका भाइ पनि कुपोषणले थलिएको उनको भनाइ छ । उनको निधनको खबर लाज शरणम् टिमले सामाजिक संजालबाट सेयर गरिरहेका छन् । कुपोषणको यो विषयलाई पाँडे, जिग्रीले फिल्ममार्फत ध्यानाकर्षण गराउन चाहेको लेखेका छन् । ‘ नेपालबाट कुपोषण हटाउन कला क्षेत्रबाट हामीले पूरा गर्नुपर्ने दायित्व सदैव निर्वाह गरिरहनेछौँ’ पाँडेले लेखेका छन् । जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’ अहिले पनि हलमा प्रदर्शन भैरहेको छ ।