काठमाडौँ । तनेबोडीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिस्थित रहेको विषादी द्रुत विश्लेषण प्रयोगशाला आज १० वटा तरकारीको नमुना परीक्षण गर्दा तनेबोडीमा विषादीको मात्रामा अत्यधिक भेटिएको हो ।
कालीमाटी बजारमा बिक्रीका लागि चितवनबाट ल्याइएको तनेबोडीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा ९२.४५ प्रतिशत भेटिएको हो । यसअघि कालीमाटीमा बेच्न ल्याएका ब्रोकाउली, पालुंगोको साग लगायतमा विषादीको मात्रा अत्यधिक भेटिएका थिए ।
नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।