१९ चैत, नयाँ दिल्ली । गुजरातको बनासकांठा जिल्लामा मंगलबार एउटा पटाका कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
आगलागीपछि धेरै विस्फोटहरू भएको अधिकारीहरूले बताएका छन् । जसका कारण डीसा सहर नजिकै रहेको कारखानाको केही भाग भत्किएको छ । भग्नावशेषमुनि धेरै कामदार फसेको आशंका गरिएको छ ।
डीसा नगरपालिकाका अग्नि नियन्त्रकहरूले भग्नावशेषमुनि फसेका कामदारहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको डीसा ग्रामीण प्रहरी चौकीका निरीक्षक विजय चौधरीले बताए । यसअघि जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले तीन जनाको मृत्यु भएको पुष्टि भएको बताएका थिए । अन्य छ जना घाइतेलाई उपचारको लागि सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।
‘आज बिहान हामीले डीसाको औद्योगिक क्षेत्रमा ठुलो विस्फोट भएको जानकारी पायौँ । दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ । सात जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । घाइते चार जना कामदारलाई विभिन्न अस्पतालमा रिफर गरिएको छ ।’ बनासकांठाका कलेक्टर मिहिर पटेलले भने ।
विस्फोट निकै शक्तिशाली रहेको र कारखानाको स्ल्याब ढलेको उनले बताए । भग्नावशेषमुनि फसेका सबैलाई उद्धार गर्न खोजी अभियान सञ्चालन गरिरहेको बताइएको छ ।