• चैत्र १९ २०८१, बुधबार

विप्लव नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्दै

चैत्र १८ २०८१, मंगलवार

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । सोमबार काठमाडौँमा बसेको पोलिटब्यूरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।

यहि मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिनेगरी दल दर्ता गर्ने निर्णय गरेको थियो । कार्यदलले आयोगमा दर्ता भएका पार्टीहरू मध्येबाट कुनै एक नाम राख्ने कि नयाँ नाम जुराएर दर्ता गर्ने विषयमा छलफल भएको तर निष्कर्षमा नपुगेको संयोजक बुढाले बताए ।

‘बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा दर्ता भएका पार्टीहरू अध्ययन पश्चात् हामी एउटा निष्कर्षमा पुग्छौँ । विभिन्न नामबारे छलफल भएको छ । नेकपा पहिले नै लोकनारायण सुवेदीको नाममा दर्ता भइसकेकाले त्यो नाम राख्न पाउँदैन । अध्ययनको निष्कर्ष आएपछि दल दर्ता गर्छौं’, उनले भने ।

अर्का स्थायी समिति सदस्य सन्तोष बुढाले विकल्पमा कर्णजित बुढाकै नाममा आयोगमा दर्ता भएको नेकपा(माओवादी समाजवादी) पार्टीलाई राखिएको बताए । उनका अनुसार समाजवादी पार्टी दल पनि आयोगमा धेरैले दर्ता गरेकाले यसबारे अहिले अध्ययनमै रहेको छ ।

‘विकल्पमा कर्णजितको पार्टीलाई पनि राखेका छौँ । आयोगमा दर्ता भएका कुन कुन दल छन् । ती सबै अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । अध्ययनपछि आएको सुझावको आधारमा हामी निर्णयमा पुग्नेछौँ’, उनले भने ।

नेकपा (माओवादी समाजवादी) २०७८ फागुन १० गते आयोगमा कर्णजितको नाममा आयोगमा दर्ता भएको छ । चुनाव चिन्ह महिला पुरुष रहेको छ । पार्टी एकता भएपनि उनले आयोगमा दर्ता भएको दल निष्क्रिय बनाएका छैनन् । यस्तै नेकपा दल सुवेदीको नाममा २०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको छ । सुरुमा यो दल ऋषि कट्टेलको नाममा दर्ता थियो ।

सुवेदी र कट्टेलबिच विवादका कारण दल विभाजन भएपछि नेकपा सुवेदीले पाएका हुन् । सुवेदीसँग पार्टी एकता नगरी विप्लवले यो नाम पाउने छैनन् । रोचक कुरा २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता हुँदा नेकपा आयोगका दर्ता गरेका थिए ।

तर, नेकपाविरुद्ध कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । २०७७ साल फागुन २३ गते अदालतले ओली–प्रचण्ड नामको नेकपा बदर गरेपछि साबिक पार्टीमा फर्किएका थिए ।