• चैत्र १८ २०८१, मंगलवार

त्रिभुवन विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा खुल्ने

चैत्र १६ २०८१, आईतवार

१७ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुलेको थियो । विमानस्थल व्यवस्थापनले २३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरी भौतिक संरचना निर्माण थालेसँगै वायुसेवा कम्पनीहरूले भने भाडा अचाक्ली बढाएका थिए । त्यसअघि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा थियो ।

अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहने विमानस्थल महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । ‘१ अप्रिलदेखि १८ घण्टा विमानस्थल खुल्छ,’ उनले भने, ‘ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ, समानान्तर ट्याक्सी वे निर्माणको काम जारी नै रहन्छ,’ उनले भने । यद्यपि, त्यसले उडान रोक्नु पर्ने अवस्था भने नआउने उनले जानकारी दिए ।

धावनमार्गबाट ७५ मिटर दायाँबायाँ संरचना निर्माणको काम हुँदा उडान रोक्नुपर्छ । जहाज अवतरण तथा उडान गर्ने क्षेत्र आसपास निर्माण सामग्री राख्न नहुने र खाल्डाखुुल्डी समेत पार्न नहुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड छ ।