काठमाडौँ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन् ।
आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन् ।
मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले बताए ।
उनले एउटा कर्मचारीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री तयार भए पनि सदन अवरुद्ध गरेर प्रतिस्थापन विधेयक पारित नगर्ने दाउपेचमा माओवादी रहेको तर्क गरे ।
उनले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारबाही गर्नुपर्ने स्पष्ट पारे । पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता लिनुपर्ने उनले बताए ।