• चैत्र १८ २०८१, मंगलवार

युरोप-अमेरिका द्वन्द्व : बेलायतले पनि अमेरिकालाई कर बढाउँदै

चैत्र १६ २०८१, आईतवार

लन्डन । बेलायतले अमेरिकाबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने तयारी गरिरहेको छ ।
डाउनिङ स्ट्रिट सम्बद्ध स्रोतले बताएको भन्दै बीबीसीले छापेको समाचारमा आवश्यक परेमा बेलायत अमेरिकाविरुद्ध अतिरिक्त भन्सार महसुल लगाउन हिचकिचाउने छैन ।

अमेरिकाले बाहिरबाट आउने कारमा लगाएको २५ प्रतिशत महसुल अप्रिल २ देखि लागू हुँदैछ । यही समयमा बेलायत सरकार ह्वाइट हाउससँग अन्तिम क्षणको वार्ता गरिरहेको छ ।

अमेरिकासँगको व्यापार बराबरी जस्तै भएको भन्दै अरु देशलाई जसरी बेलायतलाई कर लगाउन नमिल्ने तर्क बेलायतको छ । आफूलाई व्यापार युद्धमा हाम फालिहाल्ने कुनै इच्छा नभएको बेलायती प्रधानमन्त्री केयर स्टार्मरले बताएका छन् ।

दोस्रो कार्यकाल सम्हालेदेखि नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्पादन स्वदेश फर्काउने अनि रोजगारी जोगाउने भन्दै अन्य देशमाथि धमाधम अतिरिक्त महसुल लगाइरहेका छन् । तर, अर्थविद्हरूले राष्ट्रपतिको यस कदमले उपभोक्ता मारमा पर्ने र आर्थिक गतिविधि खुम्चनसक्ने चेतावनी दिइरहेका छन् ।