• चैत्र १८ २०८१, मंगलवार

ज्ञानेन्द्रलाई पक्राउ गर्न माग गर्दै ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र अभियान

चैत्र १५ २०८१, शनिबार

काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र अभियान चलेको छ ।

शुक्रबार राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शनका नाममा भएका अराजक गतिविधि र लुटपाटका लागि ज्ञानेन्द्र शाहलाई दोषी ठर्हयाई कारबाहीको दायरामा ल्याउन सामाजिक सञ्जालमा माग उठेको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शाहलाई पक्राउ गर्न माग गर्दै शनिबार ह्यासट्याग अभियान चलाएका छन् । तीनकुनेमा शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा एक पत्रकार र एक आन्दोलनकारीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए ।

अरू दर्जनौँ सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो ।

उक्त प्रदर्शनका योजनाकार तत्कालीन राजा ज्ञानेन्द्र भएको भन्दै सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न अभियान चलेको हो ।

उक्त प्रदर्शनलाई हिंसात्मक बनाउन भीडलाई उक्साएको, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रसहित एक सयभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।