• चैत्र १८ २०८१, मंगलवार

राजावादीको कहर : हिंसामा टाउको जोगाउनै मुस्किल, समातिने डरले ज्यान जोगाउनै मुस्किल

चैत्र १५ २०८१, शनिबार

सामन्तवादी विचारले आफूलाई मात्र ठुलो ठान्छ । राजतन्त्रले सामन्तवादी विचारको लागू गर्न माग गर्दछ । फलस्वरुप राजतन्त्र जनताको टाउकोमा बसेर जनतालाई डस्छ । यसैगरी नेपालमा राजतन्त्र लामो समयसम्म जारी रह्यो । तर जनताको चेतनामा आएको ठूलो परिवर्तन र विश्वव्यापीरुपमा राजतन्त्रहरु समाप्त हुँदै गइरहेको अवस्थामा नेपालमा पनि सामन्तवादी राजतन्त्रको अन्त्य भएको इतिहास छ ।

तर लामो समयक्रममा चुपचाप रहेका सामन्तवादका आत्माहरु कहिलेकाँही ब्यूतिएर हिँड्न खोज्छन् । मसान बनेर तर्साउन खोज्छन् । नेपालमा पनि यस्तै भइरहेको छ । राजाको हुकुमी शासनको अन्त्य भई गणतन्त्र आएको २० वर्षपछि ६३ सालको जनआन्दोलनबाट मिल्काइएका राजा ज्ञानेन्द्र शाहले गद्धीमा फर्कन र्याल चुहाउन थालेपछि नेपालका राजावादीहरु तात्न थालेका थिए ।

राजाको नाममा राप्रपाका राजेन्द्र लिंगदेन, दुर्गा प्रसाईं र कमल थापाहरु मरेको राजतन्त्र ब्युँताएर राजनीतिमा रजगज गर्न चाहन्छन् । फलस्वरुप उनीहरुले बेला बेला आन्दोलनका सानातिना स्वरुपहरु देखिइरहेकै थिए ।

तर जब पूर्वराजा ज्ञानेन्द्र पनि मैदानमै आएर भाषणबाजी गर्दै हिंड्न थालेपछि राजावादी शक्ति हुँ भन्नेहरुलाई बल मिलेको थियो । तर चैत्र १५ गते काठमाडौंमा भएको हिंसात्मक झडप पछि भने उनीहरुको आन्दोलनको साख गिरेको छ र उनीहरु तितरबितर भएका छन् ।

उनीहरुको आन्दोलनमा २ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार हुनु, नेताहरु धवलशमशेर रााणा र रवीन्द्र मिश्र, शाही युवा कमाण्डर मुनिन्द्र राजभण्डारी लगायत १०० भन्दा बढि मानिस पक्राउ पर्नु, आन्दोलनका कमिसार नवराज सुवेदीलाई घरमै नजरबन्द गरिनु, पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले विदेशतिर नभागुन् भनेर पासपोर्ट रद्ध गरिनु जस्ता कारणले राजावादीको आन्दोलन तितरबितर भएको अनुमान लगाउन सकिन्छ ।

राजावादीको आन्दोलनमा पहिलो गासमै ढुंगा लागेको छ । २ जनाको ज्यान गएको छ भने करोडौंको धनमाल नष्ट भएको छ । वास्तवमा उनीहरुले चैत्र १५ गतेदेखि राजतन्त्र फर्काउने आन्दोलनको उद्घाटन गर्न आमसभाको आयोजना गरेका थिए । तर भयो उल्टो ।

सही विचारले दिशा निर्देशन गर्न नसक्नु, प्रहरीसित झडपको स्थिति आएपछि पनि शान्त रहन कार्यकर्तालाई निर्देशन नगर्नु र व्यक्तिगत सम्पतिमा आक्रमण र आगजनी गर्नुले राजावादीको आन्दोलन अनियन्त्रित थियो भन्ने बुझ्‌न सकिन्छ ।

यसरी हेर्दा राजावादीको आन्दोलनले सुरुमै धक्का खाएको छ भने सरकारमा रहेका दलहरुका गतिविधिबाट वाक्क भएका जनताले राजावादीतिर आसाको नजरले हेर्न लागेको समयमा काठमाडौंमा हिंसामा उत्रिएका राजावादीप्रति जनताको बुझाइ नकारात्मक बन्दै गएको छ ।

गणतन्त्रवादी दलहरुका पार्टी कार्यालयहरुमा पनि आगजनी र ढुंगामुढा गर्नुले पनि राजावादीहरु योजनावद्ध तरिकाले काठमाडौं आएका थिए भन्न सजिलै भएको छ ।

यसैबीच प्रचण्ड, माधव नेपाल लगायतका गणतन्त्रवादी नेताले राजावादीहरुलाई दिएका चेतावनीले पनि उनीहरुका कार्यकर्ताहरुमा निरासा पलाएको हुनुपर्छ । यद्यपी तिनकुनेमा हिंसा हुनुमा राजावादीले सरकारलाई दोष दिएका छन् ।

तर यस्ता दोष बारे सरकारले वास्ता गरेको छैन र राजावादीहरुमाथि निर्मम बन्दै गइरहेको छ । सरकारको दमनका बाबजुद आगामी दिनमा राजावादीहरुको गतिविधि के कसरी अगाडी बढ्छ त्यो भने हेर्न बाँकी नै छ ।