• चैत्र १८ २०८१, मंगलवार

राजावादीको आन्दोलनमा पेस्तोल ताक्ने व्यक्ति को थिए ? प्रहरीले खोल्यो रहश्य

चैत्र १५ २०८१, शनिबार

काठमाडौं । शुक्रबार अपरान्ह कोटेश्वरमा एक सादा पोशाकका व्यक्तिले पेस्तोल ताकेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । राजावादीहरूले ‘आन्दोलनमा घुसपैठ भयो भन्दै’ उक्त तस्वीर भाइरल बनाइरहेका छन् ।

त्यसबारे अनुसन्धान गर्दा प्रहरीले नयाँ तथ्य फेला पारेको छ । शुक्रबार हिंसात्मक तोडफोड र आगजनी गर्दै प्रदर्शनकारीहरू कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्यूरो अघि पुगेका थिए । राजावादी प्रदर्शनकारीहरुले ब्यूरोको कार्यालय अगाडि सडकमा रोकेको सरकारी गाडीमा आगो लगाए । भिडले प्रहरीको गाडीलाई पल्टाउन खोज्दै आगो लगाएको थियो ।

लागुऔषध ब्यूरोमा सबै प्रहरीहरू सादा पोशाकमा तैनाथ हुन्छन् । ब्यूरोको एक टोलीले त्यही अगाडी प्रहरीको गाडीमा आगो लगाएको देखेको थियो ।

प्रहरीको गाडीमा आगो लगाएपछि प्रदर्शनकारीहरू ब्यूरोमा पसेर आगो लगाउन खोजेका थिए । त्यसक्रममा ब्यूरोमा कार्यरत प्रहरीले पेस्तोल निकालेर पोजिसन लिन खाजेका थिए । त्यहिबेलाको उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आन्दोलनमा घुसपैठ भयो भन्दै प्रचार प्रसार गरिए पनि भिडिओमा देखिएका व्यक्ति ब्यूरोकै प्रहरी रहेको ब्यूरोका एक उच्च अधिकृतले संचारमाध्यमलाई बताए । उनले भने, ‘गाडी जलाउँदै ब्यूरोमा प्रवेश गरेर आगजनी गर्न खोजेपछि हाम्रो प्रहरीले पोजिसन लिएको हो । पछि हाम्रै प्रहरी नै भागेर ज्यान बचाउनुपर्ने स्थिति आयो ।’

पेस्तोल लिएर पोजिसन लिने प्रहरीलाई आन्दोलनकारीले लखेटका थिए । उक्त घटनामा गाडी जले पनि ब्यूरोमा भने आन्दोलनकारीले आगो लगाउन पाएनन् ।