१५ चैत, काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् । भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।
भाटभटेनी व्यवस्थापनले लगत्तै प्रहरीलाई फोन दिउँसो ३ः२८ बजे फोन गरेर सहयोग मागे पनि प्रहरी भने ३४ मिनेटपछि मात्र आएपछि स्थिति नियन्त्रणमा आएको थियो ।‘प्रदर्शनकारीहरू एक दर्जन हुँदै डेढ सय हाराहारी आएर तोडफोड र लुटपाट मच्चाए,’ भाटभटेनीका ती अधिकारीले अनलाइनखबरसँग भने, ‘प्रदर्शनकारीहरूले मोबाइल फोन, घडी, मदिरा, कपडा लगायत महँगा सामान लुटेर लगेका छन् ।’त्यतिमात्र होइन, प्रदर्शनकारीहरूले फलफूल, तरकारी पनि लुटेका लगेका छन् ।
तोडफोड र लुटपाटबाट कति क्षति भयो भन्ने यकिन आकलन हुन बाँकी रहेको उनले बताए । ‘समयमै प्रहरी आएको भए यतिविधि लुटपाट र तोडफोड हुन पाउँथेन,’ उनले भने, ‘भाटभटेनी तोडफोड र लुटपाटमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ र हामीलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।’राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूहले भाटभेटनी सुपर स्टोरका सुरक्षागार्डलाई हातपात गर्दै भित्र छिरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो । प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा फुटाएका छन् ।