काठमाडौँ। आज काठमाडौँमा राजावादीहरूले भव्य प्रदर्शन गर्ने भएका छन् । यस्तै गणतन्त्रवादीहरूले पनि राजावादीहरू सक्रिय भए पछि काउन्टर दिने गरी काठमाडौं केन्द्रित भएरै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
प्रदर्शनीमार्गमा गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।
राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् जसको नेतृत्व पूर्वपञ्च नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
राजावादीहरूले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।
आजको एसइई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।
प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ। दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रदर्शनलाई मध्यनजर गर्दै कार्यक्रम स्थल तोकिएको र सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। ‘दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको छ’, उनले भनेका छन्।