काठमाडौं । काठमाडौं उपत्यकाको नेवाः समुदायले संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी भएका प्रतिगामी चलखेल स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
नेवाः समुदायका अगुवाहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।
नेवाः समुदायका अगुवाहरूले बिहीबार विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका हुन् । उनीहरूले पुरानो सामन्ती राजन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई दमन गरेको स्मरणसमेत गरेका छन् ।
‘नेपाल एक बहुजातीय, बहुभाषिक बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । पुरानो सामन्ती राजतन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको सर्वविदितै छ,’ विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘उक्त व्यवस्थाको विरुद्ध नेवाः लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलि, महिला समुदायको सहभागितामा २०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको हो ।’
नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी प्रतिगामी शक्तिहरू चलमलाउन थालेको पाइएको भन्दै यस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
‘लामो संघर्षको बलमा स्थापित स्ंघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्याउने यस्ता गतिविधिहरू हामी नेवा समुदायलाई कदापी स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले यस्ता गतिविधि नियन्त्रण गर्न र संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय संकल्पलाई पूरा गरी नेवाः लगायत आम जनताका असन्तोषहरूलाई इमान्दारीपूर्वक सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई अपिल गरेको छ ।
विज्ञप्तिमा मल्ल के सुन्दर, हितकर वीरसिंह कंसाकार, प्रा.डा. नरेशमान बज्राचार्य, भीमसेनदास प्रधान, राजेन्द्रप्रसाद श्रेष्ठ, डा. पुष्पराज राजकर्णिकार, मुक्ति प्रधान, नरेशकुमार ताम्रकार लगायतले हस्ताक्षर गरेका छन् ।