१४ चैत, काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । ७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन् ।
पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप छ । पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ ।
अपहरण गरेर बन्धक बनाउँदै ३ लाख फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले उनलाई उद्धार गरेको हो । पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।