• चैत्र १५ २०८१, शनिबार

कुलमान बर्खास्ती : पूर्वराजालाई मसला, विपक्षीलाई सरकार ढाल्ने हतियार

चैत्र १२ २०८१, बुधबार

केपी ओली नेतृत्वको कांग्रेस एमालेको गठबन्धन सरकारले राजावादीको आन्दोलनको दबाब थेग्न हम्मेहम्मे परिरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर बलेको आगोमा घ्यू थपेको छ ।
कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै यसको विरोधमा देशभर नाराबाजी र जुलुसहरु निस्किरहेका छन् । नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एस र राजावादी दलहरु समेतले कुलमानलाई हटाएको विरोधमा प्रदर्शनहरु गरिरहेका छन् भने प्रतिनिधिसभा र राष्टिय गरी दुवै सदनमा यसका बारेमा विरोध भइरहेको छ ।

फलस्वरुप विपक्षी दलहरुले आजका दुवै सदनका बैठकहरु संचालनमा अवरोध गरिरहे । गणतान्त्रिक व्यवस्था फालेर समाप्त भइसकेको राजतन्त्रात्मक व्यवस्था पुनस्थापना गर्न कम्मर कसेर लागेका राजावादीहरुलाई कुलमानलाई हटाएको विषय आन्दोलनको राम्रो मसला बनेको छ ।

उता भ्रष्टाचारीलाई जोगाउन असंवैधानिक तरिकाले बनेको सरकार भन्दै ओली सरकारको कडा आलोचना गर्दै आएका माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीलाई भने सरकार ढाल्ने बलियो मुद्धा बनेको छ । बिचौलियाको दबाबमा परेर सरकारले कुलमानलाई हटाएको उनीहरुको आरोप रहेको छ ।

प्रतिपक्ष दलहरुले कुलमानलाई हटाउन पर्नाको कारणको माग गरिरहेका छन् । प्रधानमन्त्रीको चित्तबुझ्‌दो जवाफ नआएसम्म दलहरुले सदन चल्न नदिने बताएका छन् । त्यसैगरी देश तथा विदेशमा बस्ने नेपालीहरुका संघ संस्थाहरुले पनि कुलमानलाई हटाएकोमा विरोध जनाएका छन् ।

यता नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै बोर्ड बैठक बसेको छ । बैठकले प्राधिकरणको अवस्था देखाउन स्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । यस्तै, पीपीए खोल्ने लगायतका निर्णय पनि गरेको

बोर्डका एक सदस्यले जानकारी दिए ।
घिसिङले प्राधिकरणको अवस्था कस्तो बनाएका छन्, त्यसको बारेमा स्वेतपत्र जारी गर्ने निर्णय बैठकले गरेको छ, ती सदस्यले संचारमाध्यमसित भने । ४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई आजै हटाएर सरकारले आफ्नो औचित्य गुमाइरहेको विपक्षी दलहरुको दाबी रहेको छ ।

अर्कोतिर रास्वपाका केही नेताले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलापका विषयमा तत्कालिन माओवादी जनयुद्धका समयमा भएका घटनाका बारेमा तत्कालिन सत्तापक्ष र विद्रोही माओवादी कसैविरुद्ध पनि मुद्धा नलाग्ने गरी टिआरसी विधेयक बनाउने शर्तमा ओली र देउवासित सहमति गरी कुलमानलाई हटाउने सरकारको निर्णयमा प्रचण्डले सहमति दिएको आरोप लगाएका छन् । तर यो आरोपको माओवादी अध्यक्ष प्रचण्डले खण्डन गरिसकेका छन् ।

उनले आफूलाई यस्तो आरोप लगाउने राप्रपाका नेतालाई बेइमानको संज्ञा दिएका छन् । यता सरकारको बर्खास्तीमा परेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक संचारमाध्यमसित कुरा गर्दै आफूले गरेको कामबाट अत्तालिएर र बिचौलियाको प्रभावमा परेर सरकारले आफूलाई हटाएको प्रतिकृया दिएका छन् ।

घिसिङले आफूलाई गैरन्यायीक तरिकाले हटाइएको भन्दै सरकारविरुद्ध न्यायालयको ढोका ढक्ढक्याउने बताएका छन् ।
अर्कोतिर कुलमानलाई हटाएको विरोधमा सामाजिक संजालहरु पनि निकै तातेका छन् । सामाजिक संजालहरु फेसबुक, टिकटक, युटुब, एक्स लगायतमा कुलमानलाई हटाएको विरोधमा सयौं सामग्रीहरु राखिएका छन् भने सरकारले गरेको कुलमान हटाउने निर्णयको समर्थनमा निकै कम सामग्री राखिएका छन् ।

संसदीय प्रणालीमा अंक गणितबाट बनेको सरकार नै अस्थीर हुने भएकोले अस्थीर सरकारले नियुक्त गरेको एक कर्मचारीलाई सरकारले चाहेमा सजिलै हटाउन सक्ने प्रावधान पनि कानूनमै छ । यस्तो व्यवस्थामा विजुली विभागका हाकिम कुलमान होऊन् वा अरु कुनै मानहरु होऊन तिनलाई हटाउनु राजनैतकि विषय बन्न जान्छ ।

त्यसैले सरकार पनि अस्थीर हुने नेपाल जस्तो देशमा त्यही सरकारले तोकेका हाकिमसाबहरुले कसरी पुरा कार्यकाल काम गर्न पाउछन् र ? फलस्वरुप स्वार्थ बाझिँदा बित्तिकै सरकारले त्यस्ता बिचरा हाकिमहरुलाई दुधमा परेको झिंगालाई झैं टप्प टिपेर मिल्काइदिने र आफ्‌नो स्वार्थ पूरा गरिदिने गोजीका हाकिम ल्याउँछन् ।

त्यसैले व्यक्तिको भन्दा त्यस्तो प्रणालीको विकास गर्न जरुरी छ, जहाँ ९ महिना नपुग्दै सरकार ढल्छ कि भनेर खुट्टा कमाउन नपर्ने अवस्था नरहोस् र विभागीय हाकिमहरु पनि कतै सरकारको गिद्धे नजरको मारमा पर्नु नपरोस् ।