• चैत्र १२ २०८१, बुधबार

भारतीयलाई नागरिकता दिन नक्कली बुवा बनेका व्यक्ति हिरासतमा

चैत्र ११ २०८१, मंगलवार

चैत्र १२,काठमाण्डौं । नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँ गत चैत ५ गते साँझ घरबाटै पक्राउ परे । जिल्ला प्रहरी सिरहाले अमानतलाई हिरासतमा राखेर नागरिकता सम्बन्धी कसुरमा अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ । नरहा–३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।

मोस्ताकलाई नागरिकताका दिलाउन अहिले प्रहरी हिरासतमा रहेका उनै निरक्षर अमानत र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर सनाखत गर्न लगाइएको थियो । उनीहरु भने आफ्नै दुई छोराको नागरिकताका लागि सिफारिस लिन जाँदा झुक्याएर वडाध्यक्ष र सचिवले हस्ताक्षर गर्न लगाएको दाबी गर्दै आएका छन् । तर, अमानतलाई पक्राउ गरेको प्रहरीले नागरिकताका लागि सिफारिस दिने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई भने पक्राउ गर्नेतर्फ कुनै चासो देखाएको छैन ।

सिरहा जिल्ला अदालत स्रोतका अनुसार यो प्रकरणमा अमानतसहित वडाध्यक्ष अन्सारी र वडासचिव मण्डल गरी तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, उनीहरु दुबै जना खुल्लेआम घुमिरहेका छन् । प्रहरीले भने यो प्रकरणको अनुसन्धान भइरहेको र आवश्यकता बमोजिम कदम चाल्ने जनाएको छ । ‘एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ सिरहा प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवान भन्छन, ‘आवश्यकता बमोजिम हामीले कदम चालिहाल्छौं ।’

एमालेबाट निर्वाचित वडाध्यक्ष अन्सारीलाई पार्टीबाट संरक्षण भइरहेको स्थानीयको आरोप छ । ‘यसमा सानालाई ऐन, ठूलालाई चैनजस्तो भएको छ, सामान्य मान्छेलाई पक्राउ गरियो, पहुँच भएकाहरु खुलेआम घुम्दैछन,’ स्थानीय विजय यादव भन्छन, ‘वडाध्यक्ष र सचिवलाई पक्राउ नगरी सिधै अदालतमा हाजिर गराउने खेल भएको छ, के यो देशको कानुन दुईथरि हो ?’भारतीयलाई नागरिकता दिन वडाका जनप्रतिनिधि मात्र होइन, जिल्ला प्रशासनका कर्मचारीको पनि लापरवाही देखिन्छ ।

वडाले सिफारिस गरे पनि अधिकांशलाई आवश्यक जाँचबुझ तथा स्थानीयको मुचुल्का गरी मात्रै नागरिकता जारी गर्ने जिल्ला प्रशासनले यसमा भने सामान्य सोछपुछसम्म पनि गरेको देखिँदैन । भारतीयलाई नागरिकता दिइएको विषयमा दुईरतीन दिनमै गाउँमा हल्लाखल्ला भएको थियो । नागरिकता जारी भएको एक साता नहुँदै २०८० साउन १ मा स्थानीय उलफत मियााले आर्थिक प्रलोभनमा परी भारतीयलाई नागरिकता दिइएको भन्दै जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका थिए ।

यस्तै, स्थानीय इनुस मियाँले २०८० साउन ४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा पनि कारबाहीका लागि उजुरी दर्ता गराएका थिए । उजुरीमा उनले आर्थिक चलखेल गरी भारतीयलाई नागरिकता दिइएको र यसमा वडाध्यक्षले एक लाख भारतीय रुपैयाा लिएको उल्लेख गरेका छन् । यसमाथि कुनै कारबाही नभएपछि इनुसले २०८० मंसिर ६ मा सचिवलाई सम्बोधन गर्दै गृह मन्त्रालयमा पनि उजुरी दिएका थिए । तै पनि यसमाथि कुनै कारबाही प्रक्रिया अघि बढ्न नसकेको विषयमा कान्तिपुरले गत फागुन २७ मा समाचार सार्वजनिक गरेको थियो ।