• चैत्र १३ २०८१, बिहीबार

नासाले जोगाएको आशा

चैत्र १० २०८१, सोमबार

सुनिता विलियम्स र बुच विलमोर नौ महिनापछि अन्तरीक्षबाट सकुशल पृथ्वीमा फर्किए । उनीहरू अन्तरिक्षबाट फर्किएपछि पृथ्वीवासीका बिचमा एउटा बहसले विश्राम लियो ।

त्यो थियो, के नासाले आशा जोगाउन सक्ला ? नासाका लागि पनि यो प्रश्न फलाको च्युरा चपाएसरह थियो । एकातिर प्रतिष्ठा र विश्वनीयताको कुरा थियो भने अर्कोतिर आर्थिक व्यवभारको । नासा यसका लागि नौ महिनासम्म अनेकौ आलोचना र संश्रयको च्युरा चपाएर काममा लागिरह्यो ।

आखिर जमाना प्रविधिको हो । विज्ञानको हो । विज्ञान र प्रविधिले यस संसारमा के नै पो गरेको छैन र ? अन्तरिक्षस्थित स्पेस स्टेशनमा सुनिता विलियम्स र बुच यतिका लामो समयसम्म रहँदा मानिसका लागि यो यात्रा कति सफल वा असफल हुने भन्ने कुरा पनि थियो । यो विशेषतः पृथ्वीवासीका लागि चासोको विषय थियो ।

किनकि, अन्तरीक्ष अब पृथ्वीवासीको भ्रमण चौतारी बनिसकेको छ । पृथ्वी सानो भइसकेको छ मानिसको घुमफिरका लागि । अर्को कुरा, विज्ञान र प्रविधिको विकास र टिकाउपनाका कुरा पनि यसैसँग जोडिएका थिए । भनिन्छ, ‘आवश्यकता नै आविष्कारको जननी’ हो ।

भयो पनि यस्तै । अन्तरिक्षमा रहँदाका बखत पनि सुनिता र बुचको स्वास्थ्य स्थिति राम्रो रहेको पाइयो । उनीहरू पृथ्वीमा यात्रा गरेर फर्केझैं हात हल्लाउँदै र स्वास्थ्यका हिसाबले पनि तन्दुरुस्त अवस्थामा फर्किए । अन्तरिक्षमा रहँदा उनीहरूको तौल घटिरहेको भन्ने कुरा निराधार रहेको पनि उनीहरूको उपस्थितिले देखायो ।

आठ दिनको मिसनमा गएका सुनिता र बुच प्राविधिक समस्याका कारण नौ महिनासम्म अन्तरिक्षमा बसे । त्यो पनि आशावादिताका साथ । उनीहरू अन्तरीक्ष यात्री भएकाले पनि मनोविज्ञान सकारात्मक भएको देखियो । २८६ दिन अन्तरिक्षमा बसेर पनि उनीहरूमा कुनै पनि गडबडीको मनोविज्ञान फेला परेन ।

पृथ्वीमा फर्कदै गर्दा उनीहरूले पृथ्वीको वरिपरि ४ हजार ५०० पटक परिक्रमा गरे । यो परिक्रमा पनि कम गतिमा थिएन । उनीहरूले प्रतिघण्टा १७ हजार ५०० माइलको गतिमा १२ करोड माइल यात्रा पूरा गरेका थिए । यति दुरीको यात्रापछि उनीहरू सकुशल पृथ्वीमा आइपुगे ।

तर पनि अन्तरिक्षमा लामो समय बिताउने अन्तरिक्ष यात्रीमा रूसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभ नै अगाडि छन् । रेकर्ड अनुसार भ्यालेरीले अन्तरिक्षमा ४३७ दिन १७ घण्टा ३८ मिनेट व्यतित गरेका थिए । तर अन्तरिक्षमा उनलाई लिएर गएको यानले मात्र ७ हजार ७५ पटक पृथ्वीको परिक्रमा गरेको थियो ।

यस यात्राले सिकाएको पाठले धेरै जिज्ञासायुक्त प्रश्नहरू हल गर्न बाटो खुला गरेका छन् । सूक्ष्म गुरुत्वाकर्षणको प्रभाव, विकिरणको प्रभाव, पृथ्वीको वरिपरि रहेको चुम्बकीय क्षेत्र, मानव स्वास्थ्य तथा अन्तरिक्षमा मानवको भविष्यका बारेमा उठेका जिज्ञासा तथा तिनको समाधानका लागि सहजीकरण गर्न सुनिता र बुचको अन्तरिक्ष बसाइले धेरै सहयोग गरेको छ ।

(एजेन्सीको सहयोगमा)