११ चैत, प्युठान । प्युठान खैराका भोजबहादुर बस्नेतले ४२ रोपनी जग्गामा माछा पालन गरेका छन् । खैरादेखि सारिवाङ जोड्ने बाटो खन्ने क्रममा कुलो पुरिएर पानी आपूर्ति बन्द भएपछि पोखरी सुके । झिमरुक मत्स्य पालन तथा एकीकृत कृषि फर्म सञ्चालक बस्नेत भन्छन्, ‘यो भुरा स्टकिङ गर्ने समय हो । यही बेला पोखरी सुकेर करिब सात क्विन्टल माछाहरु मरिसके । खैराकै हिमाल पोखरेलले स्वर्गद्वारी उन्नत पशुपालन फर्म दर्ता गरेर गाईं–भैंसी पालेका छन् ।
गाई–भैंसीलाई खुवाउन करिब एक बिघा जग्गामा उन्नत जातका बर्सिम र जै घाँस खेती गरेका छन् । कुलोमा पानी नआएपछि सिँचाइ गर्न नपाएर घाँस सुकेको उनी बताउँछन् । ‘ती घाँसलाई १५–१५ दिनमा सिँचाइ गर्नुपर्छ । तर कुलोमा पानी नआएपछि सिँचाइ गर्न नपाएर अहिले घाँस पूरै सुक्यो,’ पोखरेल भन्छन्, ‘पहिले दैनिक ३०–३५ लिटर दूध डेरीमा लगेर बेच्थेँ, अहिले १०–१५ लिटर लस भएको छ ।’ उनका छिमेकी कृष्णबहादुर जीसी भने गहुँमा सिँचाइ गर्न नपाएर समस्यामा परेका छन् ।
‘दोस्रो गहुँबाली सिँचाइ गर्न नपाएपछि पसाउनै नसकेर सुक्यो,’ जीसीले भने । खैराको फाँट प्युठानको अन्न भण्डार मानिन्छ । त्यहाँ झिमरुक खोलाको पानी कुलोमार्फत् सिँचाइ सुविधा र्पुयाइएको छ । कुलोभन्दा माथितिरबाट खैरा–सारिवाङ जोड्न सडकको नयाँ ट्र्याक खोलिएको छ । सडक निर्माण व्यवस्थापन समितिका अध्यक्ष जगत पोखरेलका अनुसार करिब १४ वर्ष अघिदेखि बाटो निर्माण योजनाका लागि पहल गरेर चालु आर्थिक वर्षमा बल्ल बाटो निर्माण सुरु गरिएको हो ।
तर बाटो खन्ने क्रममा कुलो बन्द हुँदा स्थानीय किसान मर्कामा परेका हुन् । पानीको बहाव खुलाइदिन आग्रह गर्दै बाटो निर्माण गर्ने ठेकेदार, कुलोको उपभोक्ता समिति, सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनीहरूको भनाइ छ । माछापालक किसान भोजबहादुर बस्नेत भन्छन्, ‘सीडीओ साब आफैं मेरो पोखरीमा आउनु भयो, माछा मरेको देख्नुभयो, बाटो खन्ने अप्रेटरलाई पनि भन्नुभयो, तर कुलोमा पानी चलेन ।’
बस्नेतले झिमरुक मत्स्य पालन तथा एकीकृत कृषि फर्म सञ्चालन गरेका छन् । यो प्युठानको सबैभन्दा ठूलो माछा फार्म हो । उनले भाडामा लिएको ५६ रोपनी जग्गामध्ये ४२ रोपनीमा माछा पोखरी बनाएका छन् । बाँकी जग्गामा गाई, भैंसी र बंगुर पालन गरेका छन् । ‘अहिले माछाका भुरा स्टकिङ गर्ने समय हो । यही बेला पानी नहुँदा चार वटा पोखरी सुके, केही पोखरीमा पानीको सतह घटेको छ,’ बस्नेत भन्छन, ‘इनारको पानी मोटरले तानेर दुईवटा पोखरीमा हालेर केही माछालाई भने बचाउन सकेको छु ।
अझै केही दिन पानी आपूर्ति बन्द भए एउटा पनि माछा नजोगिने उनी बताउँछन् । ‘पानी सुक्न थालेपछि एउटा पोखरीबाट अर्को पोखरीमा सार्ने काम पनि गरियो तर माछाको घनत्व बढी भयो, अक्सिजन कम भयो अनि मर्न थाले,’ उनी भन्छन्, ‘जेनतेन एरियसन (मेसिन प्रयोग गरेर पानीमा अक्सिजन मिलाउने काम) गरेर केहीलाई बचाइएको छ ।’ बस्नेत बुटवल पावर कम्पनीमा पब्लिक रिलेसन अफिसरको पदमा जागिरे थिए ।
त्यतिबेला स्थानीयले समूह बनाएर माछापालन व्यवसाय गरेका थिए । समूहले चलाउन नसकेर डुबेपछि बस्नेतले जागिर छोडेर माछा पालन व्यवसाय आफ्नो स्वामित्वमा लिएका थिए । ‘सबै स्वामित्व मैले एकल रुपमा लिएर ऋण तिर्ने, जग्गा भाडाको बक्यौता तिर्ने लगायतका काम गरेँ । तर गत असोज महिनामा आएको ठूलो वर्षाले पाँचवटा पोखरी फुटेर क्षति पुग्यो । अहिले फेरि पानी सुकेर ठूलो घाटा भयो,’ बस्नेत भन्छन्, ‘जग्गाको भाडा मात्रै वार्षिक चार लाख तिर्नुपर्छ । अब कसरी पो पुर्याउने हो ।’
कसैले सुनेन किसानको गुनासो
वडा कार्यालयले बाटो बनाउने क्रममा एक महिना कुलो बन्द हुने भनेर गत पुस महिनामा सूचना जारी गरेको थियो । तर त्यतिबेला काम सुरु भएन । अहिले ठेकेदारले लापरबाहीपूर्ण रूपले काम गर्दा समस्या भएको स्थानीयको गुनासो छ । स्थानीय हिमाल पोखरेल भन्छन, ‘बाटो कटिङको काम सकिइसक्यो । कुलोमा खसेको माटो सोरिदेउ न भन्दा ठेकेदारले मान्दैन ।
सबैसँग गुहार मागिसकियो तर हाम्रो कुरा सुनिएन । जताबाट पनि मर्कामा पर्ने हामी किसान त हो नि ।’बाटो बनाउने ठेक्का इन्सिका कन्ट्रक्सन प्रालिले पाएको छ । सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच २०८२ जेठ मसान्त भित्र काम सम्पन्न गर्ने सम्झौता भएको छ । प्रालिका सञ्चालक चिन्तबहादुर केसी चैत मसान्तभित्रै कुलोबाट पानी आपूर्तिको प्रयास गर्ने बताउँछन् ।