चैत्र १०,काठमाण्डौ । इजरायली आक्रमणमा गाजा पट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ५० हजार नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार १६ महिना लामो युद्धमा ५० हजार २१ जनाले ज्यान गुमाएका हुन् । यो गाजाको २३ लाख जनसंख्याको २.१ प्रतिशत अर्थात करिब ५० जनामा १ जना हो । प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध सुरु भएको हो ।
यो अविधमा १ लाख १३ हजार २ सय ७४ जना घाइते भएका मन्त्रालयले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले संकलन गरेका तथ्यांक संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले विश्वसनीय मानेका छन् । तर इजरायलले गाजाका अधिकारीले प्रकाशित गरेको तथ्यांकलाई निरन्तर अस्वीकार गर्दै आएको छ । तर इजरायलले अन्तर्राष्ट्रिय पत्रकारलाई इजरायलले स्वतन्त्र रूपमा गाजामा प्रवेश गर्न रोक लगाएको छ । त्यसैले दुवै पक्षबाट तथ्यांक प्रमाणित हुन सम्भव नभएको बीबीसीले जनाएको छ ।
तर ज्यान गुमाएकामध्ये नागरिक र लडाकुको संख्या भने छुट्टाइएको छैन । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गत नोभेम्बरमा ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै पीडितमध्ये लगभग ७० प्रतिशत महिला तथा बालबालिका रहेको जनाएको छ । हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणमा करिब १२ सय जना मारिएका थिए । त्यसका साथै हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो ।
त्यसयताका आक्रमणमा गाजा क्षेत्रका करिब ६० प्रतिशत संरचना ध्वस्त भएका छन् ।