• चैत्र १२ २०८१, बुधबार

रूसले १५० ड्रोनले हमला गरेको जेलेन्स्कीको जिकिर

चैत्र ९ २०८१, आईतवार

चैत १०, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शनिबार राति रूसले युक्रेनमाथि करिब १५० ड्रोनमार्फत हमला गरेको दाबी गरेका छन् । जेलेन्स्कीले आफ्नो एक्समा यसबारे जानकारी दिँदै रूसमाथि थप कडा प्रतिबन्धहरू लगाउन आह्वान पनि गरेका छन् । ‘गएराति रूसले युक्रेनमा करिब १५० ड्रोनमार्फत हमला र्गयो। यस हमलामा कीभमा तीन जनाको मृत्यु भएको छ, जसमा एकजना बुबा र उनकी पाँच वर्षीया छोरी पनि छन्।

यस आक्रमणमा एक बालकसहित हालसम्म १० जना घाइते भएका छन,’ उनले लेखेका छन् । उनले थपेका छन, ‘हमलाहरूका कारण जापोरिजिया क्षेत्रमा पनि तीन जनाको मृत्यु भएको छ, तीमध्ये एकै परिवारका तीन जना रहेका छन् । मृतकका परिवारप्रति मेरो गहिरो समवेदना छ ।’जेलेन्स्कीका अनुसार, रूसबाट युक्रेनमाथि दैनिकजसो हमलाहरू भइरहेका छन्। ‘यसै हप्तामा रूसले युक्रेनमा १,५८० भन्दा बढी बम, करिब १,१०० ड्रोन र १५ वटा मिसाइल प्रहार गरेको छ,’ उनले भनेका छन् ।


Advertisement

रूसमाथि प्रतिबन्धको माग
जेलेन्स्कीले रूसी आतंकवादीहरूमाथिको प्रतिबन्धलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘रूसले प्रतिबन्धको असरबाट उम्कन प्रयोग गर्न सक्ने हरेक बाटोलाई बन्द गर्न आवश्यक छ । उसमाथि थप दबाब बनाउन र यस आक्रमण तथा युद्धलाई रोक्नका लागि नयाँ निर्णयहरू लिन जरुरी छ,’ उनले भने ।

रूसी प्रतिक्रिया
यसअघि, रूसको रक्षा मन्त्रालयले आफूले हमला गरिरहेका करिब ६० युक्रेनी ड्रोनलाई निशाना बनाएको दाबी गरेको थियो। रक्षा मन्त्रालयका अनुसार, तीमध्ये अधिकांश ड्रोनहरू दक्षिणी रोस्तोभ क्षेत्रमा खसालिएका थिए । रोस्तोभका गभर्नरले पनि एक घटना विवरण दिएका छन् उनका अनुसार, एउटा ड्रोन खसेपछि एउटा कारमा आगलागी भयो, जसका कारण एक व्यक्तिको मृत्यु भएको छ ।