६ मार्च २०२५ मा चीनले चिकित्सा क्षेत्रको एक नयाँ प्रयोगमा सफलता हात पार्याे । अमेरिकापछि चीन पनि अनुवांशिक रुपमा परिमार्जित सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण गर्न सफल भयो । मेडिकल रिपोर्टअनुसार ६९ वर्षीया महिलामा प्रत्यारोपण गरिएको त्यो मिर्गौलाले राम्रो काम गरिरहेको छ । ती महिला लामो समयसम्म बाँच्ने आशा चिकित्सकको छ । यस खालको प्रयोग अघिल्लो वर्ष अमेरिकामा पनि भएको थियो । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्ति करिब २ महिना बाँच्न सफल भए ।
सन २०२२ मा पहिलो पटक अमेरिकामै सुँगुरको मुटु मान्छेमा प्रत्यारोपण गरिएको थियो । सुँगुरको मुटु लिएका ५७ वर्षीय ती व्यक्ति पनि करिब २ महिना बाँच्न सफल भए । २५ नोभेम्बर २०२४ मा न्यूयोर्कमा ५३ वर्षीया तुवाना लुनीले सुँगुरको मिर्गौला लिएर प्रत्यारोपण गराएकी थिइन् । उनी अहिलेसम्म जीवित छिन् । सुँगुरको अंग लिएर लामो समय बाँच्ने रेकर्ड उनले बनाइसकेकी छिन् । यी दृष्टान्तले के देखाउँछ भने, अबका दिनमा यस खालका प्रयोग बढ्नेछ ।
अमेरिका, चीनबाहेकका देशमा पनि बिस्तार हुनेछ । के सुँगुर अनुवांशिक रुपमा मान्छेबाट सबैभन्दा नजिकको प्राणी हो ? जनावरका अंग मान्छेमा प्रयोग गर्नेबारे ३ दशकदेखि अध्ययन, अनुसन्धान भइरहेको हुँदै आएका थिए । आखिर किन मान्छेलाई सुँगुरकै अंग मिल्यो ? अनुवांशिक रुपमा सुँगुर मान्छेको सबैभन्दा नजिकको प्राणी हो त ? वैज्ञानिकहरूका अनुसार सुँगुर र मान्छेमा केही साझा शारीरिक विशेषताहरू छन् ।