• चैत्र ११ २०८१, मंगलवार

चैतमा भएकाे हिमपातले मुस्ताङका किसानलाई मिल्याे राहत

चैत्र ९ २०८१, आईतवार

जोमसोम । हिमाली जिल्ला मुस्ताङको थासाङ,घरपझोङ र मुत्तिनाक्षेत्रमा शनिबार दिउँसो आशिंक वर्षा र हिमपात भएको छ । मुस्ताङको मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ गाउँपालिका क्षेत्रमा वर्षा र हिमपात भएको हो ।

फागुनको दोस्रो सातामा उपल्लो मुस्ताङमा आशिंक हिमपात भएको थियो । तर,तल्लो मुस्ताङमा यो सिजन हिमपात हुन सकेको थिएन । ढिलै भएपनि यो वर्षको बेमौसमी वर्षासहितको हिमपातले कृषकले थोरै भएपनि राहत पुगेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिए ।

यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा हिमपात नहुँदा सिंचाईको पहुँच नपुगेका खेतीयोग्य जमिनहरू बाँझो रहेकोमा आज परेको आशिंक वर्षासहितको हिमपातले यहाँका किसानलाई केही हदसम्म राहत पुगेको केन्द्र प्रमुख गुरुङको भनाइ छ ।

केन्द्र प्रमुख गुरुङले वर्षासँगैको आशिंक हिमपातले कृषकहरू अन्नबाली उवा,फापर जौ,आलु ,बोडी र सिमी लगायतका बालीलाई चिस्यान पूर्ति गर्न टेवा पुगेको जनाए।

मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा वर्षा र हिमपात भएको थासाङ-५ कुञ्जोका स्थानीय धिरेन्द्र ल्वागुनले जानकारी दिए । ‘यो वर्ष अनुकूल मौसममा समेत हिउँ पर्न सकिरहेको थिएन,आज दिउँसो करिब १ घण्टासम्म आशिंक वर्षा र हिमपात भयो,’स्थानीय ल्वागुनले भने,‘बेमौसमी आशिंक हिमपात र वर्षा हुँदा किसानलाई फाइदै भएको छ । वर्षा र हिमपातले जमिनलाई चिस्यान भर्न केही भएपनि सहयोग पुगेको छ ।’

स्थानीय ल्वागुनले अनुकूल समयमा हिउँ नपरेको र जमिनको तापमान वृद्धि भइसकेकाले आज परेको हिउँ जम्न नसकेको जानकारी दिए।

मुस्ताङको घरपझोङ-५ निवासी स्थानीय ममिता थकालीले घरपझोङको उच्चलेकमा हिमपात र बस्ती क्षेत्रमा आंशिक वर्षा भएको जानकारी दिए । यसवर्ष अनुकूल समयमा हिउँ नपर्दा किसानको खेतीयोग्य जमिन बाँझो रहेकाले एक साताअघि लामा राखेर प्रकृति पुजा गरेको बताए ।

‘हाम्रा खेतबारी हिउँ नपर्दा बाँझो परेको थियो,हिउँ पार्न पूर्णिमाको दिनमा प्रकृति पुजा गर्‍यौं,’उनले थपे,‘सायद प्रकृति पुजा गरेरै हो कि ढिलै भएपनि आशिक वर्षा र हिमपात भइदियो ।’

थासाङ गाउँपालिका-२ सौरुका स्थानीय कृषक सोजन हिराचनले आज परेको वर्षा र हिमपातले कृषकलाई ठूलो राहत पुगेको जानकारी दिए। उनले खडेरीले सुकेका बाँझो जग्गालाई चिस्यान भर्न हिउँ र वर्षाले ठूलो काम गरेको उल्लेख गरे ।

यसैगरी वारागुङ -१ मुक्तिनाथ क्षेत्रमा पनि आज आशिंक हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । हिउँ परेपनि जमिन तातिसकेकाले हिउँ जमिनमा थेग्रिन नसकेको उनले बताए।

मुस्ताङको तल्लो क्षेत्रमा आशिंक वर्षासहितको हिमपात भएपनि उपल्लो मुस्ताङमा हिमपात नभएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाकी प्रशासन प्रमुख शोभा पुनले जानकारी दिइन्।