• चैत्र ११ २०८१, मंगलवार

वालिङमा भएको सडक दुर्घटनामा दिलसरा आलेको मृत्यु

चैत्र ९ २०८१, आईतवार

स्याङ्जा । स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–५ र ७ को सिमाना मझकोटमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा परी वालिङ नगरपालिका–७ हिलापानीकी ४८ वर्षीया दिलसरा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकभन्दा झण्डै १५० मिटर तल सवारी साधन देखेपछि प्रहरीलाई खबर गरेको वडा नं. ५ का वडा अध्यक्ष छविलाल आलेले बताए।

ग १ ज ७५११ नम्बरको विङ्गर भ्यान दुर्घटनाग्रस्त अवस्थामा रहेको भए पनि कता जाँदै गरेको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ । महिला मृत अवस्थामा घटनास्थलमा नै भेटिएको प्रहरीले जनाएको छ ।

शनिबार राति भएको दुर्घटनाको जानकारी आइतबार बिहान मात्रै भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्थानीयले राति आवाज आएको थाहा पाएको बारे जानकारी दिएको भन्दै वडा अध्यक्ष आलेले घटनाबारे सबै नखुलेको बताए।

घटनास्थलमा चालकको मोबाइल नम्बर भेटिएको प्रहरीले जनाएको छ । चालकको अवस्थाबारे खोजी भइरहेकोे भन्दै प्रहरीले गाडीमा कति जना थिए भन्ने नखुलेको बताएको छ । घटनास्थलमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।