• चैत्र ९ २०८१, आईतवार

जलवायु परिवर्तनका कारण खानेपानीका मुलहरु सुक्न थाले : मन्त्री यादव

चैत्र ८ २०८१, शनिबार

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताएका छन् ।

आज विश्व पानी दिवसका अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन) द्वारा यहाँ आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि, जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताए ।

उनले नेपाल सरकार खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको समेत मन्त्री यादवले प्रतिबद्धता जनाए ।

उनले भने, ‘नेपालमा हिमालय क्षेत्रमा तीन हजार आठ सय भन्दा बढी ग्लेशियरहरू रहेको बताइन्छ । जसमध्ये सगरमाथा क्षेत्रको खुम्बु ग्लेशियर, ङोजोङ्मा ग्लेशियर आदि प्रसिद्ध छन् ।’

यसैगरी उनले स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास)को सुनिश्चितता भनेको नागरिकको मौलिक हक मात्र नभई सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनको पनि मुख्य आधार भएको बताए ।

सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी सरकारको लगानी ‘जस्ता नीति अघि बढाएकाले खानेपानी पहुँच विस्तारमा यसले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउँदै मन्त्री यादवले विश्वास व्यक्त गरे ।