९ चैत, एजेन्सी । इजरायली सुरक्षा अधिकारीहरूले गाजामा इजरायली हवाई आक्रमणमा हमासको सामान्य सुरक्षा बलका प्रमुख रशिद जहजुह मारिएको दाबी गरेको छ । दुई महिनाको युद्धविराम समाप्त भएपछि मंगलवार पुनः सुरु भएको इजरायली आक्रमणमा मारिएका जहजुह हमासका पछिल्लो अधिकारी हुन् ।
गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार हवाई आक्रमण सुरु भएदेखि २ सय बालबालिकासहित कम्तिमा ५ सय ६ प्यालेस्टिनीहरू मारिएका छन् । सोही आक्रमणमा हमासको सामान्य सुरक्षा बलभित्र खान युनिस क्षेत्रका प्रमुखको रूपमा चिनिने आयमान अत्सलिहको पनि मृत्यु भएको छ ।
एउटा छुट्टै आक्रमणमा इजरायली सेनाले इस्लामिक जिहादको हतियार तस्करी एकाइका एक वरिष्ठ लडाकु इस्माइल अब्द अल–आललाई मारेको जिम्मेवारी लिएको छ । अब्द अल–आलले हालैका वर्षहरूमा समूहको अधिकांश हतियार तस्करी कार्यहरूको नेतृत्व गरेको आरोप छ ।
हवाई आक्रमण पुनः शुरु भएदेखि इजरायलले हमासको राजनीतिक ब्युरोका सदस्य र गाजामा सरकारी अनुगमन समितिका प्रमुख इस्साम अल–दालिस सहित धेरै वरिष्ठ हमास अधिकारीहरूको हत्या गरेको छ ।