चैत ९, काठमाडौं । झापामा १ हजार ६३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट १ हजार ६३६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले गाँजा बोकेका दुईवटा ट्रकलाई पनि नियन्त्रणमा लिएको छ ।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले ट्रकसहित गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा धनकुटाको शहीदभूमि नगरपालिका–४ का महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का गंगाबहादुर बस्नेत रहेका छन् । चेकजाँचका क्रममा ट्रकमा ५७ बोरा गाँजा फेला परेको थियो ।
प्रहरीले उनीहरूको साथबाट ८७ हजार रुपैयाँ र पाँच थान मोबाइलसमेत बरामद गरेको छ । उनीहरूलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।