चैत्र ८,काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काममा लागिरहेको आरोप लगाए ।
अध्यक्ष दाहालले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै हो। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ ।’उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने बताए ।
उनले लेखा समिति सभापतिलाई ठूला आरोप लागे पनि प्रधानमन्त्रीले चोख्याउन तागत लगाइहरेको आरोप बताए । उनले आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे । उनले जनताको साथमा रहने प्रतिबद्धता जनाउँदै, सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक व्यवहार नदेखाउने माओवादीको नीति रहेको बताए । साथै, आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको दाबी गरे ।
उनले माओवादी सरकारमा रहँदा भ्रष्टाचारविरुद्धको अभियान छेडिएको र आर्थिक विकासको गति बढाउने प्रयास गरिएको दाबी गरे ।