• चैत्र ८ २०८१, शनिबार

मौसम परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

चैत्र ७ २०८१, शुक्रबार

चैत ८,काठमाडौं । भाइरल ज्वरो भन्नाले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रम अचानक वृद्धिको रूपमा देखापर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका र वृद्धलाई यसले निकै सताउने गर्छ । साथै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्छ । केही साता यता वीर अस्पतालको ओपीडीमा भाइरल ज्वरोका बिरामी दोब्बर बढेको वीर अस्पतालका निर्देशक दिलीप शर्माले जानकारी दिए ।

शर्माका अनुसार यस पटक धेरै दिनदेखि ज्वरो आएको तर निको नभएको समस्या लिएर आउने बिरामी धेरै छन् । ‘ज्वरोसँगै जिउ दुख्ने, लामो समय खोकी लाग्ने जस्ता लक्षण बढी देखिएका छन्’ शर्माले सुनाए । त्यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि भाइरल ज्वरोका लक्षण लम्बिएर आउनेको संख्या बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

‘वर्षेनी मौसम परिवर्तन भएसँगै यस्ता बिरामी बढ्छन’ डा. पुनले भने, ‘तर अहिले लक्षण लामो समय देखिएको छ ।’
ज्वरो निको भए पनि बिरामीमा खोकी लामो समयसम्म लाग्ने, छातीे, जिउ अत्याधिक दुख्नेजस्ता लक्षणले लामो समयसम्म रहेको पाइएको पुनले बताए ।
लक्षण
भाइरल सङ्क्रमणमा प्रायः गरेर हल्का वा धेरै (१०२ डिग्री फरेनहाइटसम्म) ज्वरो आउने हुन्छ । शरीरको दुखाइ, टाउको दुखाइ, कमजोरी, सिँगान बग्नु र खोकी आदि लक्षणहरू देखा पर्ने डा. प्रमोदकुमार साह बताउँछन् । उनी भन्छन् ‘यस प्रकारको लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्थाअनुसार परिवर्तन हुनसक्छ ।’
बढ्नुको कारण
मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जाको सक्रियता बढ्छ । जसले गर्दा सक्रिय व्यक्ति जो भीडभाडमा जान्छन्, उनीहरूबाट संक्रमण समुदायमा फैलिले र बढ्ने डा. पुन बताउँछन् । ‘घर–घरमा ज्वरोको बिरामी देखिएको र त्यो अनुपातमा पनि अस्पताल नै आउने बिरामीको संख्या कम रहेको डा.पुनको भनाइ छ । ‘त्यस्ता बिरामी आफ्नो दैनिक क्रियाकलापमा सक्रिय हुँदा, कार्यालय जाँदा अरूमा पनि संक्रमण सर्ने भयो र संक्रमण बढ्ने भयो’ पुन भन्छन् ।

संक्रमण लम्बिनुको कारण
संक्रमणदर बढ्दै जानु र लक्षण पनि लम्बिनुको कारण खराब जीवनशैली रहेको डा.पुनको बुझाइ छ। ‘अहिले स्वच्छ वातावरण र पोषिलो खानेकुरा पाउन गाह्रो छ’ डा।पुन भन्छन्, ‘शारीरिक गतिविधि पनि कम छ । जसकारण मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता पहिलेको तुलनामा निकै कम छ ।’रोग प्रतिरोधात्मक क्षमता कम हुनेबित्तिकै मौसम परिवर्तन हुँदा सक्रिय हुने जीवाणुको सम्पर्कमा आउँदा छिटै संक्रमण हुने र लक्षण पनि लामो समय रहने डा.पुन बताउँछन् ।

प्रदूषण पनि जिम्मेवार
हिउँद तथा सुक्खा याममा प्रायः वायुप्रदूषण बढ्ने गर्छ । वायुप्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ र रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । प्रदूषणका कणले शरीरलाई कमजोर बनाइरहेका बेला फ्लु संक्रमण हुँदा लक्षण लम्बिने र कडा कडा हुने डा।पुनले जानकारी दिए । फ्लुको संक्रमण र प्रदूषण एकसाथ देखिँदा भाइरल सङ्क्रमणका बिरामी निको हुन समय लागिरहेको उनले बताए । ‘प्रदूषणसँगै सङ्क्रमणले घाँटी र फोक्सोलाई असर गरी अवस्था गम्भीर बनाएका केसहरू पनि भेटिएको छ’ पुनले भने।
कस्तो अवस्थामा अस्पताल जाने ?

यदि सामान्य ज्वरो र रुघाखोकी मात्र भएमा आत्तिएर अस्पताल नै गइहाल्नु नपर्ने डा. पुन बताउँछन् । उनी भन्छन् ‘ज्वरो घरेलु उपचारले घट्दै नघटेमा, छाती दुखाइ बढेमा, दैनिकीमै असर गरेमा, असामान्य लक्षण देखा परेमा, लामो समय खोकी निको नभएमा, श्वास–प्रश्वासमा समस्या भएमा र लक्षणहरु हप्ता दिन बित्दा पनि कम नभएमा अस्पताल जानुपर्छ ।’भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता छ । धेरै दिनसम्म निको नहुँदा थप जटिलता आउन सक्ने भएकाले अवस्था हेरेर अस्पताल जान डा।पुनको सुझाव छ ।

साथै बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरूमा जटिलता देखा परेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने पुनले बताए ।
सङ्क्रमणबाट बच्ने उपाय

मौसमी स्वास्थ्य समस्याबाट बच्न आफ्नो प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खान र झोलिलो पदार्थको सेवनमा बढी जोड दिन पुन सुझाउँछन । ‘संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइको बारेमा विशेष ध्यान दिनुपर्छ । घर वरिपरि सफा राख्नुपर्छ । भीडभाडमा जानुहुँदैन । खोक्दा, हाच्छ्युँ गर्दा सधैँ रुमालले मुख छाप्नुपर्छ ।’साथै, ज्वरो तथा रुघाखोकी लाग्दा चिकित्सकको परामर्शबिना कप सिरप, साइनेक्स र एन्टिबायोटिक जस्ता औषधि सेवन नगर्न उनको आग्रह छ ।