• चैत्र ८ २०८१, शनिबार

कर्णाली प्रदेश भित्रिने र बाहिरिने सवारीको डिजिटल ट्र्याक गर्न सुरु

चैत्र ७ २०८१, शुक्रबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा भित्रिने र बाहिरिने सवारीको डिजिटल ट्र्याक गर्न सुरु गरेको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सवारीसाधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रणालीको उद्घाटन गरे ।

कर्णाली भित्रिने मुख्य नाका सुर्खेतको भेरीगंगा नगरपालिका बबईमा नम्बर प्लेट रिड गर्ने स्वचालित प्रणाली जडान गरिएको हो । कर्णालीको मुख्य राजमार्गमा पहिलो पटक जडान गरिएको स्वचालित प्रविधिले सबै प्रकारका सवारीसाधनको नम्बर रेकर्ड गर्दछ ।

स्वचालित प्रविधिको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सवारीसाधन रोकेर कापीमा नम्बर टिप्नुपर्ने दिनको अन्त्य भएको बताए । पहिलो पटक सुरुवात गरिएको डिजिटल प्रविधिको सही सदुपयोग गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने कँडेलले बताए ।

प्रविधि जडान भएसँगै बबईमा हुने सम्पूर्ण गतिविधि वीरेन्द्रनगरबाट निगरानी हुने बताउँदै कँडेलले यसले शान्ति सुरक्षा कायम गराउन सघाउ पुग्ने बताए । सवारीसाधन चेकजाँचका नाममा नागरिकलाई सास्ती हुने गरी काम गर्न नहुनेसमेत कँडेलले बताए ।