चैत ८, काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालयमा तानेर उनको स्थानमा विश्वप्रकाश अर्याललाई पठाएको छ । अर्याल यसअघि कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले बिहीबार नै प्रहरीलाई निर्देशन दिइसकेका छन् । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दीपक मलिक डोमको घर डोजर चलाएर भत्काएको विषय बाहिरिएपछि गृहले प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय फिर्ता बोलाएको हो ।
बिहीबार डोमको घर भत्काएर उठीबास लगाएको विषयमा प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले बैठकमा महायज्ञका नाममा डोमको घर भत्काएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने माग गरेका थिए ।