• चैत्र १४ २०८१, शुक्रबार

एमालेले एकैदिन एकै समय देशभर गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने

चैत्र ७ २०८१, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गरिने छ ।

एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू– धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ ।

आज महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।

नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही चैत ४ गते बसेको ४६औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको थियो ।

महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए।  महासचिव पोखरेलले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण समेत जानकारी गराएका थिए ।

कार्यक्रम निम्नानुसार छन्ः-प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।

-सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।

-चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्‍याली गर्ने ।

-चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।