७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ । यसलाई लिएर अष्ट्रेलियन प्रशिक्षक रोस देखि नेपाली टिम, खेलाडी सबै जना उत्साहित छन् । पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपाली टोली नयाँ जोशका साथ अष्ट्रेलिया पुगिसकेको छ र नयाँ प्रशिक्षकको नेतृत्वमा सकरात्मक सुरुवात गर्ने योजनामा छ ।
नेपाल र सिंगापुरबीचको खेल शुक्रबार साँझ नेपाली समयअनुसार ६ः१५ बजे सुरु हुनेछ । खेल सिंगापुर नेसनल स्टेडियममा हुनेछ । सिंगापुरमा वर्षा भइरहेकोले नेपाली टोलीले बुधबार हल्का अभ्यास मात्र गरेको थियो । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिंगापुर प्रस्थान गर्नुअघि शुक्रबारको रातको पर्खाईमा रहेको बताएका थिए । किनभने उनी पहिलो पटक कुनै पनि राष्ट्रिय फुटबलको टिमको मुख्य प्रशिक्षकको रुपमा डेब्यु गर्दैछन् ।
त्यसैलै उनले शुक्रबारको खेललाई प्रतिक्षा गरिरहेका छन् । यस्तै नेपालको प्रशिक्षकको रुपमा पहिलो पटक विदेशी भूमिका खेल्न जाँदा उनले त्यसलाई आफ्नो सपना पूरा भएको क्षण समेत मानेका छन् । ‘म फ्राइडे नाइटको प्रतिक्षामा छु । मेरो लागि ड्रिम कम ट्रयु भएको छ’ उनले भनेका थिए । सिंगापुर विरुद्धको खेलपछि नेपाली टोली कुन अवस्थामा छ भन्ने थाहा हुने र त्यसपछि थप योजना बनाएर अघि बढ्ने उनले बताए ।
यस्तै प्रशिक्षक रोसले सिंगापुर विरुद्ध आफ्नो बेस्ट टिम नै खेलाउने समेत बताएका थिए । पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपाली टोली नयाँ जोशका साथ अष्ट्रेलिया पुगिसकेको छ र नयाँ प्रशिक्षकको नेतृत्वमा सकरात्मक सुरुवात गर्ने योजनामा छ । मैत्रीपूर्ण खेल भएकोले रोसलाई नयाँ खेलाडीलाई परिक्षण गर्ने अवसर समेत छ । उनले आफ्नो पहिलो टिममा तीन नयाँ खेलाडी समेत टिममा राखेका छन् । उनलाई सिंगापुर विरुद्ध धेरै विकल्प हुन सक्छ ।
‘हामीलाई ६ खेलाडी सब्सिच्युट गर्न पाउने लक्जरी पनि छ’ उनले भनेका छन् । यसरी हेर्दा सिंगापुर विरुद्ध उनले कम्तीमा पनि १७ खेलाडीलाई खेलाउन सक्नेछन् । यस्तै कप्तान किरण चेम्जोङले पनि नयाँ प्रशिक्षक आएपछि टिममा उत्साह रहेको बताएका छन् । यस पटक नेपाली टोलीमा तीन नयाँ अनुहार छन् । फरवार्ड सुबास बम ठकुरीसहित डिफेण्डर सुमन श्रेष्ठ र गोलकिपर अन्जल श्रेष्ठले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।
पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका उनीहरू मौका पाए नेपालको लागि डेब्यु गर्न तयार छन् । नेपाल सुपर लिग (एनएसएल) को लागि अनुबन्ध भएका २१ खेलाडी राष्ट्रिय टिममा छन् । कप्तान किरण चेम्जोङ एनएसएलमा कुनै टिममा अनुबन्ध छैनन् भने रोहित इन्डोनेसियाको लिग खेलिरहेका छन् । यस्तै एनएसएलमा सहभागि ७ टिमका मार्की मध्ये ६ खेलाडी राष्ट्रिय टिममा छन् । पोखराका मार्की युवा फरवार्ड समिर तामाङ भने यस पटक सिनियर टिममा परेनन् ।
३६ वर्षपछि नेपाल र सिंगापुर खेल्दै नेपालले ३६ वर्षपछि सिंगापुरसँग फुटबल खेल खेल्न लागेको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच खेल भएको थियो । विश्वकप र एसियन कप छनोट जस्ता विभिन्न खेलहरू हुँदै आएपनि पछिल्लो तीन दशक नेपाल र सिंगापुरबीच भेट भएको थिएन । यसपटक एसियन कप छनोटअघि यी दुई टोलीबीच खेल्ने अवसर जुरेको छ । सिंगापुर नेपाल भन्दा वरियतामा माथि छ र घरेलु मैदानमा पनि खेल्दैछ ।
त्यसैले सिंगापुरलाई होम एडभान्टेज पनि हुनेछ । यसअघि नेपाल र सिंगापुर चार पटक आमने सामने हुँदा तीन खेलमा नेपाल पराजित भएको थियो भने एक बराबरी खेल्दा नेपालले कुनै गोल समेत गर्न सकेको छैन । पहिलो पटक सन् १९८२ मा भएको किंग्स कपमा नेपालले सिंगापुरसँग खेलेको थियो । उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो । त्यस्तै सन् १९८६ मा दशरथ रंगशालामै भएको पञ्चायत सिल्भर जुबिली कपमा गोलरहित बराबरी खेलेका थिए ।
यस्तै सन् १९९० को फिफा विश्वकपका लागि १९८९ मा भएको एसियन छनोटमा नेपालले सिंगापुरसँग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । त्यसबेला नेपालबाट गणेश थापा, राजुकाजी शाक्य, विराटजंग शाही, मणि शाहलगायतका खेलाडीहरूले खेलेका थिए । त्यो छनोटको पहिलो खेलमा ७–० को फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा ३–० ले पराजित भएको थियो । समग्रमा सिंगापुरले १२ गोल गर्दा नेपालले एक गोल पनि फर्काउन सकेको छैन ।
यस पटक नेपालका लागि सिंगापुर विरुद्ध गोल गर्ने चुनौती पनि हुनेछ । फिफा वरियतामा नेपाल भन्दा सिंगापुर १५ स्थान माथि छ । सिंगापुर १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ । एसियन कप छनोटको तयारी एएफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्ध समूह चरणको पहिलो खेल खेल्नुअघि नेपालले तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ देखि सुरु हुँदैछ ।
सिंगापुरको लागि पिन यो खेल एसियन कप छनोटकै तयारीको रुपमा हुनेछ । समूह एफमा रहेको नेपालले मलेसियासँग उसैको मैदानमै खेल्दै छनोट यात्रा थाल्न लागेको हो । खासमा नेपालले मलेसियासँग पहिलो खेल घरेलु मैदानमै खेल्ने तालिका थियो । तर दशरथ रंगशालालाई एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउन तत्काल मान्यता नदिएपछि नेपालले मलेसियासँग होम म्याच स्वाप गरेको हो ।
जस अनुसार नेपालको होम म्याच मलेसियाको मैदानमा खेल्ने र मलेसियाको होम म्याच पछि नेपालमा खेल्ने सहमति छ । कप्तान किरण चेम्जोङले सिंगापुर प्रस्थान गर्नुअघि घरेलु मैदानमा खेल्न नपाउँदा दुस्ख लाग्ने बताउँदै यसअघिका खेलहरू भने घरेलु मैदानमा खेल्न पाउने विश्वास व्यक्त गरेका थिए । एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एसियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् ।
होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एसियन कपमा छनोट हुनेछन् । एसियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।