• चैत्र ७ २०८१, शुक्रबार

२३० मेगावाट विजुली उपलब्ध गराइदिन भारतलाई प्रस्ताव पत्र पठाइयो

चैत्र ६ २०८१, बिहीबार

काठमाडौँ । नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत् भारतीय दूतावासलाई प्रस्ताव पठाइएको हो । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो ।

हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेका छन् । भारतबाट हाल दैनिक ७०० मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ । जसका कारण उद्योगहरू प्रभावित भएका छन् ।

ऊर्जामन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुख्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए । ‘घरायासी उपभोक्तासँगै औद्योगिक क्षेत्रलाई पनि सहज बनाउने प्रयासस्वरूप भारतलाई अनुरोध गरिएको छ । सकारात्मक संकेत देखिएकाले निकट भविष्यमा समस्या केही हल हुने विश्वास गरिएको छ,’ उनले भने ।

परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरेकी छिन् । भारतीय दूतावासले समेत नेपाललाई आवश्यक सहयोग गर्न भारत सरकारसँग समन्वय गरिरहेको छ ।

ऊर्जा मन्त्रालयका अनुसार नेपालको अधिकांश जलविद्युत् परियोजना ‘रन अफ दि रिभर’ भएकाले सुख्खायाममा उत्पादन घटेर १,००० मेगावाटमा सीमित हुन्छ । यस्तो अवस्थामा भारतबाट बिजुली आपूर्ति आवश्यक पर्ने भएकाले सरकारले दीर्घकालीन रूपमा ठूला जलविद्युत् परियोजनाहरूलाई प्राथमिकता दिने नीति लिएको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रक्रिया अघि बढाइरहेको छ ।

सुख्खायामका बेला भारतीय बजारबाट ‘सोलार आवर’ मा मात्र बिजुली आयात गर्न सकिने हुँदा उद्योगहरूलाई लोडसेडिङको चुनौती थपिएको छ । भारतले साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेमा नेपालका उद्योगहरूलाई ठूलो राहत पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।