• चैत्र ७ २०८१, शुक्रबार

महायज्ञको नाममा दलित समुदायको उठिबास गराइयो : कांग्रेस सांसद परियार

चैत्र ६ २०८१, बिहीबार

काठमाडौँ । सिराहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न दलित (डोम) परिवारमाथि उठिबास लगाएको विषय प्रतिनिधिसभामा उठेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधिसभामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको बताउँदै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएको आरोप छ ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

सांसद परियारले महायज्ञका नाममा डोम परिवारलाई दुःख दिनेलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।