चैत्र ६,काठमाडौँ । इजरायली सेनाले गाजा क्षेत्रमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ४ सय १३ जनाको ज्यान गएको छ । प्यालेस्टिनी समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ज्यान गुमाउनेमा कम्तीमा ५० बालबालिका र ३० महिला छन । मन्त्रालयका महानिर्देशक मुनिर अल–बार्सले ६ सय ६० भन्दा बढी घाइते भएको जनाए । घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको चिकित्सकको भनाइ छ ।
इजरायल रक्षा बल (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै हमाससँग सम्बन्धित ‘आतंककारीलाई लक्षित गर्दै’ आक्रमण पुनः सुरु गरेको जनाएको छ । आईडीएफले स्थानीय समयानुसार मंगलबार बिहान २ः०० बजे आक्रमण सुरु गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मध्य गाजाको देर अल–बलाह, गाजा सिटी, खान युनिस, रफाहलगायत स्थानमा हवाई आक्रमण गरिएको छ । यो गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि सबैभन्दा ठूलो हवाई आक्रमण हो ।
हमासले इजरायलले निहत्था नागरिकमाथि आक्रमण गरेको आरोप लगाएको छ । युद्धविराम उल्लंघन गरेकोमा मध्यस्थकर्ताले इजरायललाई पूर्ण रूपमा जिम्मेवार ठहराउनुपर्ने हमासको भनाइ छ । गाजा युद्धविरामको अवधि विस्तार गर्न भएका वार्ता पनि असफल भएका छन । हमासले बन्धक रिहा गर्न बारम्बार अस्वीकार गरेको र युद्धविराम विस्तार गर्ने प्रस्ताव अस्वीकार गरेकाले आक्रमण सुरु गरेको इजरायलको भनाइ छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आईडीएफले अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ । यसअघि इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले मंगलबार बिहान हवाई आक्रमणका लागि आदेश दिएको’ उल्लेख छ । ‘हमासले हाम्रा बन्धक मुक्त गर्न निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेषदूत स्टिभ विटकफ र मध्यस्थकर्ताले राखेको प्रस्तावको अस्वीकृतिपछिको प्रतिक्रिया हो,’
विज्ञप्तिमा भनिएको छ, ‘अबदेखि इजरायलले हमासविरुद्ध बढ्दो सैन्य शक्तिको प्रयोग गर्नेछ ।’ आक्रमणको योजना ‘आईडीएफले सप्ताहान्तमा प्रस्तुत गरेको र राजनीतिक नेतृत्वले स्वीकृत गरेको’ भनिएको छ । पहिलो चरणको अस्थायी युद्धविरामको अवधि १ मार्चमा समाप्त भएपछि, वार्ताकारले अर्को कदमको खोजी गर्दै थिए । अमेरिकाले युद्धविरामको पहिलो चरणलाई मध्य–अप्रिलसम्म विस्तार गर्ने प्रस्ताव गरेको थियो, जसमा हमासद्वारा बन्धकको मुक्ति र इजरायलद्वारा प्यालेस्टिनी बन्दीको थप रिहाइ समावेश थियो ।
तर, वार्तामा संलग्न एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायल र हमासबीच उक्त सम्झौतामा केही महत्त्वपूर्ण बुँदामा असहमति छ । हमासले आक्रमणको निन्दा गर्दै इजरायलले युद्धविराम उल्लंघन गरेको र बाँकी बन्धकको भाग्यलाई जोखिममा पारेको आरोप लगाएको छ । हमासले एक विज्ञप्तिमा ‘गाजामा भएको विश्वासघाती आक्रमणको परिणाम र क्रूर युद्धका कारण घेराबन्दीमा परेका र भोकमरीको सिकार भएका प्यालेस्टिनी जनताका अवस्थाका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार पूर्ण रूपमा जिम्मेवार ठहराएको’ जनाएको छ ।
अमेरिका र इजरायलको समन्वयले गाजामा पुनः तनावग्रस्त अवस्था उत्पन्न भएको हमासको भनाइ छ । ‘पुनः आक्रमण सुरु गर्नुअघि इजरायली समन्वयले अमेरिकाको युद्धमा संलग्नता पुष्टि गर्छ,’ हमास प्रवक्ता अब्दुल लतिफ अल–कानोउले भनेका छन् । गाजा कब्जाका लागि भएको रक्तपात रोक्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ छ । यसअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले इजरायलले गाजामा आक्रमण गर्नुअघि ट्रम्प प्रशासनलाई सूचित गरेको बताएकी छन ।
‘ट्रम्प प्रशासन र ह्वाइट हाउससँग इजरायलीले गाजामा गरेको आक्रमणबारे परामर्श गरेका थिए,’ उनले भनेकी छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई मात्र नभई अमेरिकालाई पनि आतंकित गर्न खोज्ने सबैले मूल्य चुकाउनुपर्ने स्पष्ट पारिसकेको उनको भनाइ छ । हमास प्रवक्ताले आफ्नो समूहले युद्धविरामका सबै सर्त पालना गरेको बताएका छन् । ‘हमास युद्धविरामलाई सुदृढ पार्न र दोस्रो चरणमा लैजान उत्सुक थियो ।
तर इजरायली आक्रमणले त्यसलाई अस्वीकार गरेको छ,’ उनले भनेका छन । गाजापट्टीको रफाहस्थित बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले ‘गाजा क्षेत्र कतै पनि सुरक्षित नभएको’ जनाएको छ । इजरायलको पछिल्लो बमबारीले १५ महिनाअघि युद्ध सुरु भएयता बालबालिकालगायत विस्थापितले शरण लिएका पाल र भवनमा क्षति र्पुयाएको युनिसेफले जनाएको छ । ‘अल–मावासी रफाह क्षेत्रमा रहेका हामी सबैका लागि समय साँच्चै कठिन भएको छ ।
यो त्यही क्षेत्र हो जहाँ युद्धको समयमा परिवारहरू भागेका थिए,’ दक्षिणी गाजाको रफाहमा रहेकी युनिसेफका प्रवक्ता रोसालिया बोलेनले भनिन । उनले बालबालिकालगायतको जीवन बचाउनका लागि युद्धविराम पुनःस्थापित गर्न एकदमै महत्त्वपूर्ण भएको बताएकी छन । ‘विस्थापितले शरण लिएका पाल तथा अन्य संरचनामा बमहरू प्रहार भइरहेका छन । दर्जनौं बालबालिका मारिएका छन ।