काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने अवस्था आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताए ।
मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिए पनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे । भारतबाट विद्युत् आयात गरेर धान्नसक्ने अवस्था अब नरहेको उनको भनाइ छ। मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाटमध्ये विद्युत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्र उत्पादन गरेको र बाँकी सबै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए ।
निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे। उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरे ।
उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको बताए। बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको उनले बताए ।