७ चैत, हेटौंडा । बागमती प्रदेशको मुकाम हेटौंडा उपमहानगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गर्न भन्दै नगर प्रमुख मिनाकुमारी लामाले अध्ययन थालेकी छन् । दुई वर्ष अघिबाट सहरी विकास मन्त्रालयसँगको समन्वयमा नेपालका विभिन्न नगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गर्ने काम चलिरहे पनि अहिले हेटौंडा यस कार्यक्रममा समावेश भएपछि अध्ययन थालिएको मेयर लामाले बताइन् ।
पहिलो चरणमा ५ वटा नगरलाई महिलामैत्री सहर बनाउने कार्यक्रम चलिरहँदा पछिल्लो पटक हेटौंडा र धनगढीलाई समावेश गरी काम अघि बढाउन खोजिएको यूएनओपीएस परियोजनाले जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि हेटौंडामा परियोजनाका कार्यक्रम व्यवस्थापन विज्ञ चुडामणि जोशी र परियोजनाका सहयोजनाकार वर्षा श्रेष्ठको टोलीले महिलामैत्री पूर्वाधार निमार्णका लागि सम्भाव्य अध्ययन गरिरहेका छन् ।
हेटौंडाकी प्रमुख लामा, इन्जिनियर बिनित ओझासहित परियोजनाको टोलीले हेटौंडा–११ राप्तिपार्क निर्माण स्थल, हेटौंडा–१० को राप्ति तट क्षेत्र, हेटौंडा–८ नगर विकासमा रहेको खुल्ला क्षेत्रको अवलोकन गरेको छ । परियोजना अन्तर्गत पहिलो चरणमा खुला सार्वजनिक क्षेत्रको पहिचान, प्राथमिकीकरण, वडाहरूको रेखाङ्कनको काम हुने जनाइएको छ । परियोजनाले देशका २ सय ९३ वटै स्थानीय तहको भ्रमण र अध्ययनपछि कामलाई अघि बढाएको उल्लेख गरेको परियोजनाका विज्ञ जोशीले जानकारी दिए ।
उनका अनुसार हाल हेटौंडा र धनगढीबाहेक विराटनगर, चन्द्रागिरि, सुनवल, चल्मिचौहा, तानसेन र तिलोत्तमा नगरपालिकामा महिलामैत्री सहर निर्माणको काम भइरहेको छ । हेटौंडा र धनगढीमा यस परियोजना ४ वर्षसम्म सञ्चालने हुने जोशीले बताए । परियोजनाअनुसार महिलाहरुले सार्वजनिक ठाउँमा महिला र शारिरिक अशक्त भएकाहरुको सहज पहुँचको अवधारणालाई अघि सार्नेछ । नयाँ थप भएका दुई उपमहानगरमा युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोग रहने छ ।
परियोजना कार्यान्वयनका लागि एक पालिकामा करिब साढे पाँच करोड रुपैयाँ खर्च हुने परियोजनाले जनाएको छ । हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले युरोपका विभिन्न मुलुकको अध्ययन अवलोकन भ्रमणको समयमा प्रस्ताव गरिएअनुसार महिलामैत्री सहर निर्माणका लागि परियोजना आएको बताइन् । ‘परियोजनाले महिलाको आत्मसम्मानको विकास, जिम्मेवार, भावनात्मक रुपमा थप बलियो बनाउन मद्दत पुर्याउनेछ,’ लामाले भनिन् ।