• चैत्र ६ २०८१, बिहीबार

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव भोलि

चैत्र ५ २०८१, बुधबार

६ चैत, काठमाडौं । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । ७ चैत २०७१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रूपमा अघि बढाइएको बताए । उनले भने, ‘हामी विश्वभरका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव आदानप्रदान गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं ।’लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल,

चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको अवस्था आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यही ७ चैतदेखि सुरु हुने महोत्सवमा ८ चैतमा मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । ९ चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन हुनेछ ।

यसैबीच लुम्बिनी शान्ति साङ्गीतिक कार्यक्रम, झोङ्ग हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए । महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजिएच ग्रुप, भिभो, दीपल, बुद्ध एयरलगायत स्थानीय र अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने आयोजकले जनाएको छ ।