• चैत्र ६ २०८१, बिहीबार

अर्बपति मस्कको कम्पनी टेस्लाको बजार मूल्य घट्यो

चैत्र ५ २०८१, बुधबार

काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी अर्बपति एलन मस्कको सबैभन्दा मूल्यवान कम्पनी टेस्लाको बजार मूल्य घटेर स्पेसएक्स भन्दा पछि परेको छ ।

गत नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी अभियानमा मस्कले २० करोड अमेरिकी डलर सहयोग गरेका थिए । त्यसपछि गत डिसेम्बरमा मस्कका कम्पनीको सेयर मूल्य ठूलो मात्रामा बढेको थियो ।

मस्कको एक्सएआईको मूल्य ५० अर्ब अमेरिकी डलर पुगेको थियो । रकेट निर्माता कम्पनी स्पेसएक्सको बजार मूल्य ३५० अर्ब अमेरिकी डलर पुगेको थियो । यसबीच मस्क ४०० बिलियन डलर सम्पत्ति हुने पहिलो व्यक्ति बने ।

डिसेम्बरमै विद्युतीय सवारी (ईभी) निर्माता टेस्लाको सेयर बढेर यसको बजार मूल्य १.५ ट्रिलियन अमेरिकी डलर पुगेको थियो । बुधबार भने यसको बजार मूल्य आधाभन्दा बढीले घटेर करिब ७०६ अर्ब अमेरिकी डलर छ ।

ट्रम्पले गएको जनवरी २० मा कार्यभार सम्हालेपछि र सन् २०२४ को चौथो त्रैमासमा लक्ष्यभन्दा कम गाडी बिक्री भएपछि टेस्लाको सेयर मूल्य घट्न थालेको थियो ।

फोर्ब्सका अनुसार स्पेस एक्समा रहेको मस्कको ४२ प्रतिशत सेयरको मूल्य गत सोमबार १४७ अर्ब अमेरिकी डलर थियो । जुन त्यसदिन टेस्लामा रहेको उनको सम्पत्तिभन्दा करिब २० अर्ब डलर बढी हो । मंगलबार टेस्लाको सेयरमूल्य ५.४ प्रतिशतले घटेको थियो ।

यसअघि सन् २०१९ मा पनि टेस्लाभन्दा स्पेसएक्सको शेयरबाट मस्क बढी धनी थिए । त्यतिबेला मस्कको कुल सम्पत्ती करिब २० अर्ब अमेरिकी डलर मात्र थियो ।

हाल मस्कको सम्पत्ति ३२१.४ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सको तथ्यांक छ । दोस्रो नम्बरमा रहेका धनाढ्य जेफ बेजोसको सम्पत्ति २०९.३ अर्ब अमेरिकी डलर छ ।